Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल प्रथम शीतल गौतमसहित १२७ जना +२ ग्र्याजुएटलाई गैँडाकोट नमूना माविको भव्य सम्मान

नेपाल प्रथम शीतल गौतमसहित १२७ जना +२ ग्र्याजुएटलाई गैँडाकोट नमूना माविको भव्य सम्मान

गैँडाकोट : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ स्थित गैँडाकोट नमूना माध्यमिक विद्यालय/कलेजले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छात्र शीतल गौतमसहित विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ।

शनिबार आयोजित ‘द नेक्स्ट च्याप्टर’ कार्यक्रममा विद्यालयले यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका १२७ जना विद्यार्थीलाई पञ्चेबाजासहित सम्मान गरेको हो। यस वर्षको कक्षा १२ परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल प्रथम बनेका शीतल गौतम कार्यक्रमको प्रमुख आकर्षण बने।

विद्यालयका सहायक प्रिन्सिपल चन्द्र केसीका अनुसार यस वर्ष विद्यालयबाट १२७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जसमध्ये १४ जनाले ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजासहित सफलता प्राप्त गरेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय तथा जी ग्रुपका प्रबन्ध निर्देशक इन्द्रप्रसाद रेग्मीले गैँडाकोट नमूना मावि लामो इतिहास बोकेको शैक्षिक संस्था भएको उल्लेख गर्दै उत्कृष्ट नतिजाको श्रेय विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासलाई दिए।

उहाँले विद्यालयलाई देशकै अत्याधुनिक ‘हाइटेक’ शिक्षालयका रूपमा विकास गर्न नयाँ भवन निर्माण भइरहेको जानकारी दिँदै आगामी केही वर्षभित्र विद्यालयमै विभिन्न विषयमा उच्च शिक्षाको व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो। साथै विद्यालयमा अत्याधुनिक चमेना गृह निर्माण भइरहेको र विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै जङ्क फुड (पत्रु खाना) निषेध गरिने जानकारी पनि दिनुभयो।

कार्यक्रमका विशेष वक्ता अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले नमूना माविको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै नेपाल प्रथम शीतल गौतमलाई आफ्नो कलेजमा स्नातक तहको जुनसुकै विषय अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो।

उहाँले विद्यालयका दोस्रो हुने विद्यार्थीलाई ५० प्रतिशत, तेस्रोलाई २५ प्रतिशत तथा नमूना माविबाट उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिनुभयो। साथै कक्षा १२ पछि तत्काल विदेश जानुभन्दा नेपालमै स्नातक अध्ययन गरी सीप हासिल गरेर मात्र विदेश जान आग्रह गर्दै युवालाई देश निर्माणमा योगदान दिन प्रेरित गर्नुभयो।

नेपाल प्रथम शीतल गौतमले कार्यक्रममा बोल्दै जीपीए मात्र सफलताको मापन नभएको उल्लेख गर्दै निरन्तरको मेहनत, अनुशासन र सही कार्यशैलीले मात्रै जीवनमा सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक नारायण सापकोटा, लुम्बिनी आईसीटी कलेजका प्रतिनिधि श्रीकृष्ण न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राना, अभिभावक रुपा काफ्लेलगायतले विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

    

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij