काठमाडौंः अमेरिका र इरानबीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गएराति हर्मुज जलमार्ग वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लडाकु विमानहरूले आक्रमण गरेका हुन्।
शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले ’वान–वे अट्याक ड्रोन’मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमान्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य तीनवटा इरानी ड्रोनलाई बीचमै खसालेको दाबी गरेको छ।
यद्यपि, एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्र हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन।
sagarmatha cement
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भनेका छन्। ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानले परिणाम भोग्नुपर्ने संकेत दिँदै भने, ‘तपाईंहरूले चाँडै थाहा पाउनुहुनेछ। मलाई हिजो उनीहरूले गोली चलाएको कुरा मन परेको छैन। उनीहरूले यस्तो गर्नु हुँदैनथ्यो।’
यसैगरी, इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सामाजिक सञ्जाल एक्समा कडा चेतावनी दिँदै लेखेका छन्, ‘इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको हो र हामीले त्यसको पालना गरेका छौँ। यदि सम्झौता कार्यान्वयनको विषयमा उनीहरूको कुनै असहमति छ भने फोन उठाएर कुरा गर्न सक्छन्। तर हिंसाको जवाफ हिंसाबाटै दिइनेछ।’
अर्कोतर्फ, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सले अमेरिकी हमलाको कडा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमतिबिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।
गएको फेब्रुअरी महिनादेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले यो महत्वपूर्ण जलमार्ग बन्द गरेको थियो, जसका कारण विश्वभर इन्धनको मूल्य बढेको थियो। लामो गतिरोधपछि गत जुन १७ मा अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भई युद्ध रोक्ने र ६० दिनसम्म बिना कुनै शुल्क व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग दिने सहमति भएको थियो।
तर, सम्झौतामा हर्मुज भएर जाने जहाजहरूबाट इरानले शुल्क लिन पाउने कि नपाउने भन्ने विषयमा दुवै देशको बुझाइ फरक छ। अमेरिकाले यो मार्ग पूर्ण रूपमा निःशुल्क हुनुपर्ने अडान राख्दै आएको छ भने तेहरानले आफूसँग शुल्क लिने अधिकार सुरक्षित रहेको दाबी गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij