Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अन्तरजातीय विवाह गर्ने ७ दम्पतीलाई भरतपुर महानगरको सम्मान, जनही १ लाख रुपैयाँ

अन्तरजातीय विवाह गर्ने ७ दम्पतीलाई भरतपुर महानगरको सम्मान, जनही १ लाख रुपैयाँ

चितवन : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै दलित तथा गैरदलित समुदायबीच विवाह गरेका सात दम्पतीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

शुक्रबार महानगरपालिकाको सभाहलमा आयोजित दलित तथा गैरदलितबीच अन्तरजातीय विवाह गर्ने दम्पती प्रोत्साहन तथा सम्मान कार्यक्रम मा कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सम्मानपत्रसहित प्रत्येक दम्पतीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले भरतपुर महानगरपालिकालाई जातीय विभेदमुक्त, समावेशी र सभ्य समाजका रूपमा विकास गर्ने लक्ष्यसहित अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति अघि बढाइएको बताउनुभयो।

उहाँले संविधानले जातीय विभेदलाई अपराध माने पनि व्यवहारमा अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै सामाजिक सोच परिवर्तनका लागि यस्ता अभियान आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार महानगरपालिकाले विगतदेखि नै अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको छ। यसले सामाजिक सद्भाव, समानता र आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई आर्थिक प्रोत्साहन मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रमलाई जातीय विभेद अन्त्य गरी समानतामूलक र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij