Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, एक सातामै ५० करोडभन्दा बढी कारोबार

रास्वपा महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, एक सातामै ५० करोडभन्दा बढी कारोबार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनले चितवनको आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको छ। झण्डै एक सातासम्म सञ्चालन भएको महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा रु ५० करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।

महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण होटल, रेष्टुरेन्ट, यातायात, कृषि तथा पर्यटन क्षेत्र चलायमान बनेका हुन्। आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक साताको अवधिमा करिब रु २० करोड आवासमै खर्च भएको छ भने समग्र कारोबार ५० करोड रुपैयाँ नाघेको अनुमान गरिएको छ। उनका अनुसार एकै दिन चितवनमा करिब २० हजार जनासम्म बसेका थिए।

भरतपुरका होटल भरिएपछि सौराहा, पूर्वी चितवन र नवलपरासीको गैँडाकोटसम्मका होटलमा प्रतिनिधिहरू बसेका थिए। पार्टीले चार दिनसम्म खाना व्यवस्थापन गरेको र त्यसबाहेकको खर्च प्रतिनिधिहरूले स्वयं व्यहोरेका थिए। पार्टीको मात्रै रु ४ करोडभन्दा बढी खर्च भएको गौतमले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार महाधिवेशनका क्रममा बाहिरी जिल्लाबाट करिब २,२०० साना तथा ठूला सवारीसाधन चितवन भित्रिएका थिए।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले होटल तथा रेष्टुरेन्टसँगै दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूललगायत कृषि उत्पादनको खपतसमेत उल्लेखनीय रूपमा बढाएको बताए। उनका अनुसार यसले भरतपुरको आर्थिक चक्रलाई सकारात्मक गति दिएको छ। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डेले भरतपुरका होटलले सबैभन्दा बढी लाभ लिएको र त्यसपछि सौराहालगायत पर्यटकीय क्षेत्रका होटलमा पनि राम्रो व्यापार भएको बताए। उनले पहिलो पटक चितवन आएका धेरै नेता तथा कार्यकर्ताले सौराहालगायत पर्यटकीय गन्तव्यको भ्रमण गर्ने अवसरसमेत पाएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij