Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जनहित राष्ट्रिय माध्यमिक विद्यालयको १२ कोठे नवनिर्मित भवन उद्घाटन

जनहित राष्ट्रिय माध्यमिक विद्यालयको १२ कोठे नवनिर्मित भवन उद्घाटन

चितवन : कालिका नगरपालिका–३ स्थित जनहित राष्ट्रिय माध्यमिक विद्यालयले निर्माण सम्पन्न गरेको १२ कोठे पक्की विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई थप सुदृढ बनाउने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटन कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले गुणस्तरीय शिक्षाका लागि आधुनिक तथा सुविधासम्पन्न भौतिक पूर्वाधार आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयको समग्र विकासमा नगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

 

कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै विद्यालयको भौतिक संरचना विस्तारसँगै शैक्षिक गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो। त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङले विद्यालयको विकासमा स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

 

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले नवनिर्मित भवनले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए। भवन निर्माण सम्पन्न भएसँगै कक्षाकोठा अभावको समस्या समाधान हुनुका साथै विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार विकास तथा आगामी योजनाबारे जानकारी गराउँदै विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। सहभागीहरूले नवनिर्मित भवनले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij