Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल नमुना माविले कक्षा १२ उत्तीर्ण विद्यार्थी र उत्कृष्ट शिक्षकलाई गर्‍यो सम्मान

नेपाल नमुना माविले कक्षा १२ उत्तीर्ण विद्यार्थी र उत्कृष्ट शिक्षकलाई गर्‍यो सम्मान

चितवन : रत्ननगर–२ स्थित नेपाल नमुना माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८३ सालको कक्षा १२ वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा योगदानकर्ता शिक्षकहरूलाई सम्मान गर्दै विदाई कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत थरुनीको अध्यक्षतामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाकी शिक्षा अधिकृत रविना देउजा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा कक्षा १२ को परीक्षामा ३.६० वा सोभन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरिएको थियो। साथै, परीक्षामा उत्तीर्ण भएका सबै विद्यार्थीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सफलताको बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको विद्यालयले जनाएको छ। उत्कृष्ट शैक्षिक नतिजा हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो। विशेषगरी सम्बन्धित विषयमा शतप्रतिशत नतिजा दिलाउन सफल गङ्गा ढकाल र सृजना सुवेदीसहित अन्य उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेन्द्र प्रसाद घिमिरेले सीमित स्रोत–साधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजा प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश यस नतिजाले दिएको उल्लेख गर्दै विद्यालय परिवार, शिक्षक, विद्यार्थी र अभिभावकलाई बधाई दिनुभयो।

विशिष्ट अतिथि रविना देउजाले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै जीवनोपयोगी सीप, अनुशासन, नैतिक मूल्य र सकारात्मक सोच विकास गर्दै अघि बढ्न प्रेरित गर्नुभयो। उहाँले सम्मानित विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। यसै अवसरमा विद्यालयको शैक्षिक उन्नयन, प्रभावकारी नेतृत्व तथा गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई विशेष सम्मान गरेको थियो।

विद्यार्थीहरूको तर्फबाट मोहम्मद बेलाल र लक्ष्मी लामिछानेले विद्यालयसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। अभिभावकका तर्फबाट विष्णु शर्माले विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

सम्मानित शिक्षक सुरेश चन्द्र आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–कर्मचारी, अभिभावक, कक्षा ११ र १२ का विद्यार्थी तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उत्साह, सम्मान र प्रेरणाले भरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा थप आत्मविश्वास प्रदान गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता अझ सुदृढ भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij