Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती प्रदेशमा टीभीईटी रूपान्तरण र नवप्रवर्तन प्रवर्द्धनका लागि अन्तरक्रिया सम्पन्न

बागमती प्रदेशमा टीभीईटी रूपान्तरण र नवप्रवर्तन प्रवर्द्धनका लागि अन्तरक्रिया सम्पन्न

चितवन : प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रलाई नवप्रवर्तनमैत्री, प्रविधिमुखी तथा श्रम बजारको मागअनुकूल बनाउँदै गुणस्तरीय, रोजगारमुखी र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित “टीभीईटीमा नवीन अभ्यास” विषयक एकदिने अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशमा सम्पन्न भएको छ।
सीटीईभीटी बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनस्थित नारायणी बहुप्राविधिक शिक्षालयमा सम्पन्न उक्त कार्यक्रमले प्राविधिक शिक्षालाई परम्परागत सीप विकासको सीमित दायराबाट माथि उठाउँदै नवप्रवर्तन, डिजिटल प्रविधि तथा उद्योग–शिक्षालय सहकार्यमा आधारित प्रणालीतर्फ रूपान्तरण गर्ने विषयमा केन्द्रित छलफल गरेको हो।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सीटीईभीटी बागमती प्रदेश कार्यालयका निर्देशक हर्कलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। पूर्वसचिव डा. हरि लम्साल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।



download (1).jpg
undefined

वक्ताहरूले बदलिँदो विश्व परिवेश, तीव्र प्रविधिगत विकास र चौथो औद्योगिक क्रान्तिका सन्दर्भमा टीभीईटी क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले डिजिटल प्रविधि, अनुसन्धान र उद्योगसँगको सहकार्यलाई मजबुत नबनाए प्राविधिक शिक्षा प्रणाली प्रतिस्पर्धामा कमजोर बन्न सक्ने चेतावनीसमेत दिएका छन्।
डा. हरि लम्सालले नेतृत्व तहमा दृष्टिकोण, कार्यशैली र लक्ष्यमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई) तथा नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी परिषद्का अधिकारीहरूले टीभीईटी क्षेत्रलाई केवल सीप हस्तान्तरणको माध्यम मात्र नभई उद्यमशीलता र आर्थिक विकासको आधारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न प्राविधिक शिक्षालयका प्राचार्यहरूले आफ्ना संस्थागत अनुभव, नवप्रवर्तनका अभ्यास तथा उद्योगसँगको सहकार्य सम्बन्धी उपलब्धिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापनका क्रममा अध्यक्ष हर्कलाल श्रेष्ठले प्राचार्यहरूलाई विद्यार्थीको रोजगार सुनिश्चितता, संस्थागत क्षमता अभिवृद्धि तथा भर्ना दर वृद्धि गर्न व्यवहारिक र परिणाममुखी अभ्यासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
कार्यक्रमबाट प्राप्त सुझावहरूले प्रदेशको प्राविधिक शिक्षा तथा तालिम क्षेत्रको नीति निर्माण, सुधार र दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट