Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनमा प्रस्तुत रवि लामिछानेको २३ पृष्ठे प्रतिवेदन : भित्र के छ त ?

रास्वपा महाधिवेशनमा प्रस्तुत रवि लामिछानेको २३ पृष्ठे प्रतिवेदन : भित्र के छ त ?

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा पार्टी रहेको स्पष्ट पारेका छन्।

महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सुनिश्चित हुने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको धारणा राखे। उनले संविधान निर्माणको सन्दर्भमा केही फरक धारणा रहेको उल्लेख गर्दै पार्टी स्थापना कालदेखि नै संविधान संशोधनबारे रास्वपाले उठाउँदै आएको मुद्दा पुनः दोहोर्‍याए।

‘२०७२ सालमा संविधान लेखिँदा नै एक दशकपछि यसको कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको हो,’ लामिछानेले भने, ‘आज हामी त्यही स्वाभाविक पुनरावलोकनको चरणमा आइपुगेका छौँ।’ उनले महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रास्वपा रहेको भन्दै सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।

लामिछानेका अनुसार पार्टीले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभामा रूपान्तरण गर्ने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने प्रस्ताव पनि अघि सारेको छ। त्यस्तै प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ थियो। संविधान संशोधन संकुचित राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रको दीर्घकालीन हित, सुशासन र स्थायित्वका आधारमा हुनुपर्ने उनले जोड दिए।

‘संविधान राष्ट्रको साझा दस्तावेज हो, कुनै दलको घोषणापत्र होइन,’ उनले भने, ‘संशोधन सुशासन, स्थायित्व, प्रतिनिधित्व र नागरिक हितमा आधारित हुनुपर्छ।’

 
 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij