भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन भव्य रूपमा उद्घाटन भएको छ। पार्टी स्थापनाको चौथो वर्ष पूरा भइरहँदा आयोजित महाधिवेशनमा देशभरबाट हजारौं कार्यकर्ता, समर्थक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), पार्टी सभापति रवि लामिछाने, केन्द्रीय पदाधिकारी, सांसद तथा विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तर, पार्टीका चर्चित सांसद अमरेशकुमार सिंह भने उद्घाटन समारोहमा अनुपस्थित देखिए।
सर्लाही–४ बाट निर्वाचित सांसद सिंह महाधिवेशनमा सहभागी नभएको उनका स्वकीय सचिव रञ्जित झाले जानकारी दिए। उनका अनुसार सिंह हाल काठमाडौंमै रहेका छन्।
‘उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको हो भन्नेबारे जानकारी छैन,’ झाले भने।
पछिल्लो समय सांसद सिंहले पार्टीभित्र विभिन्न विषयमा फरक धारणा राख्दै आएका छन्। उनले सार्वजनिक रूपमा समेत असन्तुष्टि व्यक्त गर्दै आएका थिए। संसद्मा पनि सरकारको कार्यशैली र गतिविधिप्रति उनले आलोचनात्मक धारणा राख्दै आएका छन्।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी दिशा, नेतृत्व चयन र संगठन सुदृढीकरणसँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ। यस्तो महत्त्वपूर्ण अवसरमा सांसद सिंहको अनुपस्थिति भने राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij