Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिका–इरान वार्ता आइतबार स्विट्जरल्यान्डमा,इरानी वार्ता टोली स्विट्जरल्यान्ड प्रस्थान

अमेरिका–इरान वार्ता आइतबार स्विट्जरल्यान्डमा,इरानी वार्ता टोली स्विट्जरल्यान्ड प्रस्थान

काठमाडौं । अमेरिका–इरानबीच आइतबार स्विट्जरल्यान्डमा वार्ता हुँदै छ ।वार्ताको मुख्य मध्यस्थकर्ता पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि भएको अन्तरिम सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित आइतबार स्विट्जरल्यान्डमा प्राविधिकस्तरको वार्ता हुने जानकारी दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामावाद सहमतिपत्रमा हस्ताक्षर भएपछिको अनुगमनस्वरूप आइतबार स्विट्जरल्यान्डको बर्गेनस्टोकमा प्राविधिक स्तरको वार्ता हुनेछ ।”

विज्ञप्तिअनुसार पाकिस्तानी र कतारी मध्यस्थकर्ताहरू पनि अमेरिका र इरानका प्रतिनिधिहरूसँगै उक्त वार्तामा सहभागी हुनेछन् ।


इरानी वार्ता टोली स्विट्जरल्यान्ड प्रस्थान

इरानको सरकारी टेलिभिजनका अनुसार देशको उच्चस्तरीय वार्ता टोली अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्डतर्फ प्रस्थान गरिसकेको छ । यो भ्रमण यसअघि शुक्रबारका लागि तय गरिएको भए पनि लेबनानमा लडाइँ चर्किएपछि स्थगित गरिएको थियो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “यस भ्रमणको उद्देश्य अमेरिकालाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्नु हो ।”

यो घोषणा इरानको संयुक्त सैन्य कमान्डले लेबनानमा इजरायलको निरन्तर आक्रमणको विरोधमा होर्मुज जलमार्ग पुनः बन्द गर्ने निर्णय गरेपछि आएको हो । जारी सैन्य तनावले अमेरिका–इरान अन्तरिम सम्झौतामाथि ठूलो दबाब सिर्जना गरेको छ ।

प्रवक्ता बकाईले लेबनानमा लडाइँ अन्त्य हुनेलगायत मुख्य प्रतिबद्धताहरू पूरा नभएसम्म स्थायी सम्झौताका लागि वार्ता अघि नबढ्ने स्पष्ट पारेका थिए । “यदि यी समझदारी वा प्रतिबद्धताहरूको कुनै पनि अंश कार्यान्वयन नगरिए पूरा सहमतिपत्र नै खतरामा पर्नेछ,” उनले भनेका थिए ।

जेडी भान्स पनि स्विट्जरल्यान्ड प्रस्थान

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ताका लागि वासिङ्टनबाट स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन् । शनिबार ‘जोइन्ट बेस एन्ड्रयूज’ बाट प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “म त्यहाँ केवल एक वा दुई दिनका लागि मात्र बस्नेछु ।”

उनले थपे, “हामीले परमाणु मुद्दा र लेबनानमा युद्धविरामको विषयमा प्रगति गर्ने आशा राखेका छौँ । मलाई लाग्छ, हामीले मुख्य रूपमा ध्यान केन्द्रित गर्ने दुई ठूला विषय यही हुनेछन् ।”

यसअघि भान्सले शनिबार आफू इरानी अधिकारीहरूसँगको वार्ताका लागि छिट्टै स्विट्जरल्यान्ड जाने अपेक्षा गरेको बताएका थिए ।

‘फक्स न्यूज’लाई दिएको अन्तर्वार्तामा भान्सले अमेरिका र इरानबीच भएको १४ बुँदे सहमति–पत्र कायम रहनेमा आफू अझै विश्वस्त रहेको उल्लेख गरे । साथै, उनले होर्मुज जलमार्ग बन्द गरिएको कुनै प्रमाण आफूले नदेखेको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट