Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटायो

अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटायो

काठमाडौंः मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच एक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ।

यस सम्झौतापछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोलेका छन्। 

गत फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मोज्तबाले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास भएर’ यो सम्झौता गरेको दाबी गरे।

उनले आफ्नो फरक मत भएपनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसुद पेजेस्कियानको आश्वासनपछि मात्र सम्झौता अघि बढ्न दिएको स्पष्ट पारेका छन्। यद्यपि, अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेन्डा स्वीकार गर्नु नहुने उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्धविराम हुने अपेक्षा व्यक्त गरेका छन्।

यो सम्झौतामा १४ वटा मुख्य बुँदाहरू रहेका छन्।  जसमा रणनीतिक रूपमा महत्वपूर्ण ‘हर्मुजको जलसन्धि’ पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। 

उक्त कोषमा अमेरिकाले भने रकम योगदान गर्नुनपर्ने समाचारमा उल्लेख छ। यो सम्झौता आगामी ६० दिनभित्र अन्तिम चरणमा पुग्ने लक्ष्य राखिएको छ।

स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भएपनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उप–राष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा छन्।

यद्यपि, अमेरिकाभित्रै यस सम्झौताको आलोचना सुरु भएको छ। रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई दशककै सबैभन्दा ठूलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन्। उनले इरानको आणविक महत्वाकांक्षा नरोकिएको र नाकाबन्दी हटाएर इरानलाई थप बलियो बनाइएको तर्क गरेका छन्।

यता उप–राष्ट्रपति भान्सले भने इरानले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म प्रतिबन्धहरू नहटाउने भन्दै सम्झौताको बचाउ गरेका छन्।सम्झौताको विषयलाई लिएर इजरायली मन्त्रीहरू इतामार बेन ग्विर र बेजालेल स्मोट्रिचले पनि आपत्ति जनाएका छन्। यसको जवाफमा भान्सले इजरायली क्याबिनेटलाई वास्तविकता बुझ्न र आफ्नो एक मात्र शक्तिशाली सहयोगीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट