Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मृगकुञ्जको पहलमा संरक्षणमूलक क्षमता अभिवृद्धि कार्यक्रम

मृगकुञ्जको पहलमा संरक्षणमूलक क्षमता अभिवृद्धि कार्यक्रम

रत्ननगर : संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सोमवार सौराहामा संरक्षण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले नवनिर्वाचित कार्यसमिति सहित सरोकारबालाहरुका लागि संरक्षणमुलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसंगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा निकुञ्ज तथा मध्यवर्ती ऐन, संरक्षणमा निकुञ्ज र मध्यवर्ती स्तरबाट भएका प्रयास, मानब र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, स्थानीय समुदायको जीविकोपार्जन तथा वन्यजन्तुबाट हुने क्षतिको राहत लगायतको विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको मृगकुञ्जकी कार्यबहाक अध्यक्ष सरस्वती लामाले जानकारी दिइन् ।

कार्यक्रममा चितवन निकुञ्ज पूर्वी सेन्टर प्रमुख रविन चौधरीले वन तथा वन्यजन्तु जोगाउन निकुञ्ज, नेपाली सेना, मध्यवर्ती र स्थानीय समुदायले खेलेको भूमिको विषयमा सहजीकरण गरेका थिए । सो अबसरमा उनले निकुञ्जमा रहेका बन्यजन्तुकै कारण सौराहा सहित चितवनको पर्यटन चलेको भन्दै यसले स्थानीय समुदायको शसक्तिकरण र आयआर्जनमा समेत टेवा पुगेको बताए ।

निकुञ्जका रेन्जर सुवास पोखरेलले निकुञ्ज ऐन र नियमावलीको वारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले मानब वन्यजन्तु बीचको द्वन्द्वको कारण र क्षतिपूर्तिको व्यवस्थापन फितलो रहेको भन्दै निकुञ्ज र मध्यवर्तीलाई सचेत गराएका छन् । मृगकुञ्जका कोषाध्यक्ष बालकृष्ण अम्गाईले संरक्षणलाई प्रभावकारी र बलियो बनाउन स्थानीय जनताको चित्तबुझ्ने गरी काम गर्न आवश्यक रहेको बताए । उनले निकुञ्ज र मध्यवर्ती बीचको सम्बन्ध बलियो भएमात्र संरक्षण दीगो रुपमा अगाड बढ्ने विश्वास व्यक्त गरे ।

मृगकुञ्जकी कार्यबहाक अध्यक्ष लामाले संरक्षण र जीविकोपार्जनसंगसंगै बाघेमैदान तथा आहार व्यवस्थापनको पाटोमा महत्व दिएर अगाडि बढ्ने बताइन् । हामी निकुञ्ज र जनताको बीचमा बसेर काम गर्ने निकाय हौं उनले भनिन् दुबैको न्याय हुने गरी संरक्षणलाई अगाडि लैजान्छौं । कार्यक्रम मृगकुञ्जका कार्यालय सचिव यौवनकुमार पराजुलीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij