Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विश्वकप २०२६ : जापान र नेदरल्याण्ड्सको रोमाञ्चक बराबरी

विश्वकप २०२६ : जापान र नेदरल्याण्ड्सको रोमाञ्चक बराबरी

काठमाडौ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। 

डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पिछडिएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्त्वपूर्ण अङ्क खोस्न सफल भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बनेको थियो। खेलको ५०औँ मिनेटमा रायन ग्राभेनबर्चको क्रसलाई कप्तान भर्जिल भान डाइकले हेडमार्फत गोलमा परिणत गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। 


तर, कतार विश्वकप २०२२ मा जर्मनी र स्पेनलाई सुरुमा गोल खाएर पनि पराजित गरेको इतिहास बोकेको जापानले यहाँ पनि उत्कृष्ट पुनरागमन गर्‍यो।  केइतो नाकामुराले डिपिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको ६४औँ मिनेटमा नेदरल्याण्ड्सका लागि तेस्रो खेल खेलिरहेका युवा विङ्गर क्रिसेन्सियो समरभिलले जापानी डिफेन्डरलाई छलाउँदै सुन्दर गोल गरेर टोलीलाई पुनः २–१ को अग्रता दिलाए। 

प्रशिक्षक रोनाल्ड कोम्यानको डच टोली जिततर्फ अग्रसर भइरहेका बेला खेलको अन्तिम समयमा जापानले नाटकीय पुनरागमन गर्‍यो।

जापानका परिवर्तित खेलाडी कोकी ओगावाको सशक्त हेडर डच गोलकिपर बार्ट भर्ब्रूगेनलाई लाग्नुअघि दाइची कामादासँग ठोक्किँदै गोलमा परिणत भएपछि जापानले हार टार्न सफल भयो ।

पहिलो हाफमा डच फरवार्ड डोन्येल मालेन र कोडी गाक्पोका प्रहारहरूलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गर्दै विफल पारेका थिए। यस रोमाञ्चक बराबरीसँगै समूह एफमा दुवै टोलीले १–१ अङ्क बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट