काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको रेमिट्यान्स सेवा प्रदान गर्दै आएको आइएमई लिमिटेड २६औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले स्थापना दिवसका अवसरमा आफ्नो २५ वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा वित्तीय समावेशीकरण र डिजिटल सेवामा थप केन्द्रित हुने प्रतिबद्धता जनाएको छ। संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको सफलतामा ग्राहक, साझेदार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था तथा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले विदेशमा श्रम गर्ने नेपालीहरूको विश्वास नै आइएमईको सबैभन्दा ठूलो पूँजी भएको बताउनुभयो।
ढकालले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउँदै विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न सरकारसँग सहकार्य जारी रहने जानकारी दिनुभयो। साथै वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो। आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले काउन्टर सेवाबाट सुरु भएको कम्पनीको यात्रा अहिले डिजिटल प्रविधिमार्फत अझ छिटो, सुरक्षित र सहज बनेको बताउनुभयो। “समय फेरियो, प्रविधि फेरियो तर भरोसा उस्तै छ,” उहाँले भन्नुभयो।
सहसंस्थापक अध्यक्ष हेमराज ढकालले आइएमई अब केवल मनि ट्रान्सफर सेवामा सीमित नभई फिनटेक इकोसिस्टमको रूपमा विकसित भएको बताउनुभयो। उहाँका अनुसार कम्पनीले वित्तीय समावेशीकरण र नागरिकको दैनिक जीवनसँग जोडिएका सेवाहरू विस्तार गर्दै आएको छ। आइएमई ग्रुपले रेमिट्यान्ससँगै उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार तथा सूचना प्रविधि क्षेत्रमा समेत लगानी विस्तार गर्दै आएको जनाएको छ। समूहले आगामी दिनमा उत्पादन, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा योगदान बढाउने लक्ष्य लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij