चितवन : डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना सालका काठ व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ। वन ऐन (तेस्रो संशोधन) २०७९ ले निश्चित अवधि पुगेका काठ व्यवस्थापन गर्न अनुमति दिएपछि कार्यालयले उक्त कार्य अघि बढाएको हो।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार ऐनले सालका काठ पाँच वर्ष, सिसौका काठ दुई वर्ष तथा अन्य प्रजातिका काठ एक वर्ष पुराना भए व्यवस्थापन गर्न सकिने व्यवस्था गरेको छ। सोही प्रावधानअनुसार राष्ट्रिय वन क्षेत्रमा रहेका करिब पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम थालिएको उहाँले जानकारी दिनुभयो।
कार्यालयका अनुसार सतनचुली सामुदायिक वन र चुम्लिङटार क्षेत्रमा रहेका ‘ए’ ग्रेडका सालका काठ व्यवस्थापन गरिनेछ। ती काठबाट प्रतिक्युबिक फिट एक हजारदेखि एक हजार २५० रुपैयाँसम्म राजस्व संकलन हुने अनुमान गरिएको छ। कार्यालयले काठ व्यवस्थापनबाट वन क्षेत्रमा थन्किएका पुराना काठको सदुपयोग हुनुका साथै सरकारी राजस्वमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको छ।