चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डमा निर्माणाधीन चार पुल आगामी असारभित्र सञ्चालनमा ल्याइने भएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र बाँकी सामान्य काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलामा निर्माण गरिएका पुल असारभित्र सवारी सञ्चालनका लागि तयार पारिनेछ। पुलसँग सडक जोड्ने केही काम, प्लाष्टर, रङरोगन तथा ट्राफिक सुरक्षा व्यवस्थासम्बन्धी काम भने अझै बाँकी रहेको उनले बताए।
उनका अनुसार पुलहरूको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ। यता, सोही सडकखण्डमा निर्माणाधीन हुग्दी र चरौँदी खोलाका थप दुई पुलको काम पनि जारी छ। हुग्दी पुलको करिब ३० प्रतिशत र चरौँदी पुलको ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
यसैबीच अलकत्राको अभावका कारण रोकिएको कालोपत्रे कार्य पनि पुनः सुरु हुने तयारीमा रहेको छ। निर्माण कम्पनीले केही दिनभित्र अलकत्रा उपलब्ध हुने जानकारी गराएको र त्यसपछि करिब दुई किलोमिटर सडकमा बेस राखी कालोपत्रे सुरु गरिने मिश्रले बताए।
हालसम्म सडक स्तरोन्नतिको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ। ३८ दशमलव ८६ किलोमिटर लामो यस सडकखण्डमा केही भाग छ लेन, केही भाग चार लेन तथा उकालो–ओरालो क्षेत्रमा ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ।
रु ४ अर्ब ८० करोड ५९ लाख लागतमा निर्माण भइरहेको यो आयोजना विश्व बैंकको सहयोगमा अघि बढाइएको हो। सडकमा कालोपत्रे, नाला निर्माण, पहिरो नियन्त्रण संरचना, पर्खाल, सडक सुरक्षा तथा थप पुल निर्माणलगायतका काम अझै बाँकी छन्।
काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने मुख्य मार्गका रूपमा रहेको यस सडकखण्डको निर्माण म्याद गत डिसेम्बर २८ मा सकिएपछि १८३ दिन थप गरिएको छ भने थप म्यादका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij