Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री

नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राजनीतिमा एउटा नयाँ र ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । बुधबार मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म सत्तामा रहने ‘निर्वाचित’ प्रधानमन्त्री बनेका हुन् । सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार यस पदमा आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो नयाँ रेकर्ड बनाएका हुन् ।

यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको था । नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरेका थिए । नेहरूको सोही रेकर्डलाई उछिन्दै मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय लगातार देश चलाउने निर्वाचित नेता बनेका हुन् । वर्तमान समयमा मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री पद सम्हालिरहेका छन् ।

यस ऐतिहासिक कीर्तिमानको सन्दर्भमा ‘नियुक्त’ र ‘निर्वाचित’ कार्यकालको भिन्नतालाई बुझ्न जरुरी देखिन्छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायती उपक्रमबाट स्वतन्त्र भएपछि जवाहरलाल नेहरूलाई सिधै प्रधानमन्त्री नियुक्त गरिएको थियो । उनी संसद्‌बाट निर्वाचित नभई सोझै नियुक्त भएको सो पहिलो अवधि सन् १९४७ अगस्ट १५ देखि १९५२ मे १३ सम्म कुल १ हजार ७ सय ३२ दिनको रहेको थियो ।

त्यसपछि सन् १९५२ मा भारतमा पहिलो पटक आम निर्वाचन भयो र कांग्रेस सत्तामा आएपछि संसदीय दलले नेहरूलाई आफ्नो नेता छान्यो । यसरी निर्वाचन जितेर आएपछि नेहरू १९५२ मे १३ देखि १९६४ मे २७ सम्म लगातार ४ हजार ३ सय ९८ दिन निर्वाचित प्रधानमन्त्रीका रूपमा पदमा रहेका थिए । मोदीले नेहरूको सोही निर्वाचित अवधिको रेकर्डलाई तोडेका हुन् ।

कुनै पनि पदमा बिनाकुनै अवरोध निरन्तर रहिरहनुलाई लगातार कार्यकाल भनिन्छ, जसरी मोदी सन् २०१४ मे २६ देखि अहिलेसम्म निरन्तर पदमा छन् । अर्कोतर्फ, फरक–फरक समयमा सोही पदमा रहेर काम गरेको अवधिलाई जोडेर ‘कुल कार्यकाल’ निकालिन्छ, जसरी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी तीन फरक अवधिमा प्रधानमन्त्री बनेका थिए ।

मोदी सरकारको १२ वर्ष पूरा भएको अवसरमा र यो ऐतिहासिक रेकर्डको खुसीयाली मनाउन बुधबार दिउँसो नयाँ दिल्लीको भारत मण्डपममा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को एउटा महत्त्वपूर्ण बैठक बस्दै छ । बैठकमा भाजपा र एनडीएशासित २२ राज्य तथा केन्द्रशासित क्षेत्रका मुख्यमन्त्री, उपमुख्यमन्त्रीसहित प्रमुख नेताहरूको उपस्थिति रहनेछ । सो बैठकमा मोदीले कायम गरेको यस कीर्तिमानका लागि बधाई प्रस्ताव पारित गरिनेछ । यसका साथै बैठकमा ‘विकसित भारत–२०४७’ को रोडम्याप, केन्द्र र राज्यहरूबीचको समन्वय, विकास परियोजनाहरू, ‘इज अफ लिभिङ’ र ‘इज अफ डुइङ बिजनेस’ लाई अझ अगाडि बढाउने विषयमा गम्भीर छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट