Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन उद्योग वाणिज्य संघ र महासंघ बागमती प्रदेशबीच अन्तरक्रिया

चितवन उद्योग वाणिज्य संघ र महासंघ बागमती प्रदेशबीच अन्तरक्रिया

चितवन : चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटको प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा निजी क्षेत्रका चुनौती, सम्भावना र आगामी रणनीतिबारे छलफल गरिएको थियो।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघका भावी योजनाबारे जानकारी दिँदै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महासंघको भूमिका महत्वपूर्ण हुने बताए। उनले बागमती प्रदेशका आर्थिक सम्भावनाहरू अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गरे। संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले महासंघले उद्यमी–व्यवसायीका समस्या र मागलाई सरकार तथा सरोकारवाला निकायसम्म पुर्‍याउने पुलको भूमिका खेल्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले निजी क्षेत्रका समस्यालाई नजिकबाट अध्ययन गरी समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशभरिका उद्योग वाणिज्य संघहरूलाई एकताबद्ध बनाउँदै साझा मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। सोही अवसरमा अध्यक्ष श्रेष्ठले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनयन गरिएको घोषणा गरेका थिए।

कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले उद्योग वाणिज्य संघहरूको सचिवालय व्यवस्थापन, कर्मचारी क्षमता अभिवृद्धि तथा आम्दानीका नयाँ स्रोत पहिचानमा जोड दिएका थिए। वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महासंघको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उद्यमी–व्यवसायीको हितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा महासंघ बागमती प्रदेशका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कोषाध्यक्ष रुद्रबहादुर खत्रीलगायत पदाधिकारी तथा चितवन उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रम अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट