काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसानहरू ठुलो मारमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरेका हुन्।
६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गरे। पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यावहारिक समस्या बुझ्न आग्रह गरे। 'एनिमल लभर्स' हरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक समस्या किसानको मकैबारी र अलैँची घारीमा रहेको उनको तर्क छ।
सञ्चारकर्मीहरूसँग बोल्दै सांसद राईले भने, ‘मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ। ६०० होइन, अब ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र शान्ति हुन्छ। लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ। किसानहरू धुरुधुरु रोइरहेका छन्। यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानून र एनजीओ/आईएनजीओको कुरा सुनेर जनतालाई पीडा दिनु हुँदैन।’
सांसद राईले यस विषयलाई लिएर आफू कुनै पनि कानुनी कारबाही वा जेल जान नडराउने समेत स्पष्ट पारे। विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने उनको भनाइ छ। बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारी र गाउँघरमा गएर किसानको वास्तविक अवस्था बुझ्न उनले चुनौती समेत दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij