चितवन : चितवनको माडी नगरपालिकाले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिँदै प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नगरपालिकाको ४३औँ कार्यपालिका बैठकले प्लाष्टिकजन्य झोला, गिलास तथा अन्य एकपटक प्रयोग गरिने सामग्रीमा रोक लगाउने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको निष्कर्षका आधारमा प्रतिबन्ध लागू गरिएको हो।
उनका अनुसार उद्योग वाणिज्य संघ माडी शाखासँगको सहकार्यमा निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। निर्णयसँगै नगरपालिकाले आकस्मिक अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा समुदायस्तरमा सचेतना अभिवृद्धिका गतिविधि सुरु गरेको जनाएको छ। प्लाष्टिकका झोला र गिलासको प्रयोगका कारण फोहोर व्यवस्थापनमा चुनौती थपिएको तथा वातावरणीय प्रदूषण बढेकाले नियन्त्रण आवश्यक भएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई निकट भविष्यमै ‘प्लाष्टिकमुक्त नगरपालिका’ घोषणा गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको बताए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको माडीमा प्लाष्टिकजन्य फोहोरले वन्यजन्तु, मानव स्वास्थ्य तथा स्थानीय पर्यावरणीय प्रणालीमा असर पुर्याउने भएकाले यस्तो कदम चालिएको उनको भनाइ छ। स्थानीय सरकारको यो निर्णयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij