चितवन : नेपालमा जलन उपचारको अवस्था र चुनौती’ विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। रोटरी डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान), रिजन ६ अन्तर्गतका रोटरी क्लबहरू, रोटर्याक्ट क्लब अफ भरतपुर र रोटर्याक्ट क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा कीर्तिपुर अस्पतालस्थित जलन, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका वरिष्ठ कन्सल्टेन्ट प्राध्यापक डा. शंकरमान राईले प्रमुख स्रोत व्यक्तिको रूपमा आफ्नो प्रस्तुति दिनुभयो। डा. राईले जलनका कारणहरू, चोटको प्रकृति र प्राथमिक उपचारका विधिहरूबारे प्रकाश पार्दै नेपालको उपचार अवस्था र पश्चिमी देशहरूको अवस्थाबीचको तुलनात्मक विश्लेषण गर्नुभयो। उहाँले नेपालमा जलन उपचारलाई अझ प्रभावकारी बनाउन सामाजिक सरोकारवालाहरूको एकीकृत सहयोग र हातेमालोको अपरिहार्यतामा जोड दिनुभयो।
त्यसैगरी, मध्यविन्दु प्रादेशिक अस्पतालका कन्सल्टेन्ट जनरल सर्जन डा. अर्चन घिमिरेले सीमित स्रोत र साधनका बाबजुद मोफसलमा रहेर जलनका बिरामीहरूको उपचार गर्दा आइपर्ने व्यावहारिक चुनौती र आफ्ना अनुभवहरू साटासाट गर्नुभयो।
कार्यक्रममा बोल्दै रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटेरियन प्राध्यापक डा. आइ.पी. ढकालले जलन उपचारको क्षेत्रमा बहुक्षेत्रीय सहकार्यको खाँचो औंल्याउनुभयो। उहाँले आगामी रोटरी वर्ष २०२७-२८ मा डिस्ट्रिक्टले जलन उपचारको क्षेत्रमा विशेष सहकार्यसहित अघि बढ्ने योजना रहेको जानकारी गराउनुभयो। कुल ६० जनाभन्दा बढी रोटेरियन, रोटर्याक्टर र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपालमा जलन उपचारको अवस्था सुधारका लागि सचेतना र सहकार्यको नयाँ ढोका खोलेको रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सुशान्त रेग्मीले बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij