Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती

नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती

काठमाडौँ : वर्षौँदेखि यात्रुहरूका लागि ‘कष्टकर’ बन्दै आएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको यात्रा अब सहज हुने भएको छ । सडक विस्तारको ९२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएसँगै यात्रुले दाउन्नेको सास्तीबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढसम्मको यात्रा करिब दुई घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ चैत ८ गते सम्झौता भएर सुरु भएको यो आयोजनाको सुरुवाती म्याद २०७९ साउन २२ गतेसम्म थियो । तर, कोभिड महामारी, रूख कटानमा ढिलाइ, र निर्माण व्यवसायीको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि २०८१ साउन ८ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो । उक्त म्यादमा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ साउन ८ सम्म म्याद थपियो । यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर २०८३ साउनसम्म थपिएको छ ।

यो म्यादभित्र भौतिक निर्माणका काम सकिए पनि रोड मार्किङलगायत सडक सुरक्षाका काम भने थप केही समय लाग्ने आयोजनाले जनाएको छ । कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्डगरी दुई प्याकेजमा विभाजन गरेर विस्तार भइरहेको यो खण्डको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । यो सडक ७० किलोमिटर चार लेन, २९ किलोमिटर सहरी क्षेत्रमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गरिएको आयोजानाले जनाएको छ ।

बिटुमिन अभावले अन्तिम पूर्वी खण्डमा कालोपत्र ढिलाइ

आयोजनाको पूर्वी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म यस खण्डको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । लामो समयदेखि निर्माणाधीन यस सडक खण्डमा अहिले मुख्य संरचनाको काम सकिएर फिनिसिङको चरण सुरु भएको छ । खनालका अनुसार कालोपत्र (पिच) को काम ९९ प्रतिशत र ढल निर्माणको काम ९८ प्रतिशत सकिएको छ । त्यस्तै, साना–ठुला पुलहरूको निर्माण कार्य पनि ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

लामो समयदेखि यात्रुहरूका लागि निकै कष्टकर बन्दै आएको दाउन्ने खण्डको सुधारमा उल्लेख्य सफलता मिलेको छ । दाउन्नेको १० किलोमिटर सडक खण्डमध्ये खुर्सानी खोला नजिकैको १९० मिटर पहिरो प्रभावित क्षेत्रबाहेक अन्य सबै ठाउँमा सडक ढलान गर्ने काम सकिएको छ । साथै ९ वटा ठुला पुल र ३४ वटा साना पुल निर्माण सम्पन्न भएका छन् ।
अब सडकमा मुख्यतया ‘रोड सेफ्टी’ (सडक सुरक्षा) का कामहरू मात्र बाँकी रहेका छन् । ‘अहिले सडकमा रङ लगाउने (लेन मार्किङ), बारहरू राख्ने र सडकको बिचमा हरियाली प्रवद्र्धनका लागि बिरुवा रोप्ने जस्ता कामहरू भइरहेका छन्,’ इन्जिनियर खनालले भने । यद्यपि, यस ठेक्का सम्झौतामा सडक बत्ती जडान गर्ने काम भने समावेश नगरिएको उनले प्रस्ट पारे ।

आयोजनाले बाँकी काम तीव्र गतिमा गरिरहेको भए पनि निर्माण सामग्री अभावका कारण केही समय ढिलाइ हुने देखिएको छ । पश्चिम एसियामा चर्किको द्वन्दका कारण पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुँदा बिटुमिन (कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ) अभाव भएको छ । जसका कारण कालोपत्र प्रभावित बनेको छ । करिब ३०० मिटर सडकको दोस्रो तह (अन्तिम लेयर) को पिच गर्न बाँकी छ ।

‘पहिलो तहको कालोपत्र भइसकेकाले गाडी गुड्न र सर्वसाधारणलाई यात्रा गर्न कुनै समस्या छैन, तर बिटुमिन अभावले माथिल्लो तहको काम केही रोकिएको छ,’ खनालले भने । सडक निर्माणले गति लिएसँगै अब पूर्वी खण्डमा यात्रा गर्ने यात्रुहरूले विगतमा जस्तो हिलो र धुलोको सास्ती खेप्नुनपर्ने भएको छ । सडकका अधिकांश भागमा पिच वा ढलान भइसकेकाले यात्रा सहज बनेको छ । साथै यस खण्डमा रहेका साना ठुला ३४ पुल निर्माण सम्पन्न भइसकेको छ ।

पश्चिम खण्ड पनि अन्तिम चरणमा

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्ड (बुटवल–दाउन्ने) को भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । आगामी साउन ५ गतेसम्मको म्याद रहेको यस खण्डमा बाँकी रहेका कामहरू तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । आयोजनाका पश्चिम खण्डका इन्जिनियर विकास खनालका अनुसार हालसम्म ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । केही नयाँ भुक्तानी प्रक्रियामा रहेकाले वित्तीय प्रगति अझै बढ्ने उनी बताउँछन् ।

लामो समयदेखि यात्रुहरूका लागि निकै कष्टकर बन्दै आएको दाउन्ने खण्डको सुधारमा उल्लेख्य सफलता मिलेको छ । दाउन्नेको १० किलोमिटर सडक खण्डमध्ये खुर्सानी खोला नजिकैको १९० मिटर पहिरो प्रभावित क्षेत्रबाहेक अन्य सबै ठाउँमा सडक ढलान गर्ने काम सकिएको छ । साथै ९ वटा ठुला पुल र ३४ वटा साना पुल निर्माण सम्पन्न भएका छन् ।‘पहिरो प्रभावित १९० मिटर क्षेत्रमा एकतर्फको काम सकिसकेका छौँ भने अर्कोतर्फको काम पनि सुरु भइसकेको छ,’ इन्जिनियर खनालले भने, ‘असारको दोस्रो हप्तासम्ममा त्यो खण्ड पनि तयार भइसक्नेछ । त्यसपछि वर्षायाममा दाउन्नेमा हिलो र पहिरोका कारण हुने सास्ती पूर्ण रूपमा हट्नेछ ।’

हाल बुटवलबाट नारायणगढसम्मको यात्रा करिब दुई घण्टामा नै तय गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए । सडक विस्तारसँगै सुरक्षाका उपायहरूमा पनि काम भइरहेको छ । हाल सडकमा ‘रोड मार्किङ’को काम सुरु भइसकेको छ भने दाउन्ने खण्डमा ‘क्र्यास ब्यारियर’ लगाउने तयारी भइरहेको छ । त्यस्तै ६ लेनको सहरी क्षेत्रमा सर्भिस लेन निर्माणको काम पनि अगाडि बढेको छ । बर्दघाट बाहेकका क्षेत्रमा सर्भिस लेनको पहिलो कोटको काम सकिएको र मौसमले साथ दिएमा म्यादभित्रै दोस्रो कोटको काम पनि सम्पन्न हुने इन्जिनियर खनालले बताए ।

यद्यपि, केही प्राविधिक कामहरू भने मनसुनका कारण साउनपछि पनि धकेलिन सक्ने देखिएको छ । विशेषगरी बायो–इन्जिनियरिङ र सर्भिस लेनको रोड मार्किङका केही कामहरू वर्षायामका कारण केही समय बाँकी रहन सक्ने आयोजनाको अनुमान छ । वर्षाको समयमा हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै हाल दाउन्ने खण्डमा ‘टिक ड्रेन’ (नाला) निर्माणको कामलाई पनि प्राथमिकता दिइएको छ । यो सडक खण्ड निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम यात्रा गर्ने हजारौँ यात्रुहरूले लामो समयदेखि भोग्दै आएको धुलो, हिलो र ट्राफिक जामको समस्याबाट सदाका लागि मुक्ति पाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट