Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अण्डाको समर्थन मूल्य पुनः बढ्यो, नयाँ दर शनिबारदेखि लागू

अण्डाको समर्थन मूल्य पुनः बढ्यो, नयाँ दर शनिबारदेखि लागू

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म (समर्थन) मूल्य पुनः वृद्धि गरेको छ। संघको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले देशभर लागू हुने गरी शनिबारदेखि नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, सुझाव र सिफारिसका आधारमा चितवनलाई आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो। नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५१५ रुपैयाँ तथा सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ। संघले सबै व्यवसायी तथा सरोकारवालालाई तोकिएको समर्थन मूल्यमा नै कारोबार गर्न आग्रह गरेको छ।

अध्यक्ष पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादन घट्नु, बजारमा माग बढ्नु तथा दाना, औषधि र अन्य उत्पादन सामग्रीको लागत वृद्धि हुनु मूल्य समायोजनका प्रमुख कारण हुन्। पछिल्लो एक महिनायता अण्डाको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। वैशाख २४ गते एक्सएल अण्डा ४६५ रुपैयाँ प्रतिक्रेट रहेकोमा अहिले ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो।

त्यस्तै, ठूलो अण्डा ४९० बाट ५४५ रुपैयाँ, मिडियम अण्डा ४०० बाट ५१५ रुपैयाँ तथा सानो अण्डा प्रतिपेटी २ हजार ३०० बाट ३ हजार रुपैयाँ पुगेको संघले जनाएको छ। संघका अनुसार पछिल्ला हप्ताहरूमा उत्पादन घट्नु र माग बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन्। उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले नयाँ समर्थन मूल्यले किसानलाई लागत नजिकको मूल्य प्राप्त गर्न सहयोग पुगेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट