चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन अनुरोध गरेको छ । गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न आग्रह गरेका हुन् ।
अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको छ । नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत विद्युत् आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताए ।
भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने काम गरिएको थियो । वैशाख १६ गतेदेखि सुरु गरिएको अटोमेसन कार्य रोकिएको छ भने वितरण केन्द्रबाट दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।
यस केन्द्रमा १८० मेगावाटको क्षमता रहेको छ । यहाँबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् जाने गर्दछ । केन्द्रमा हाल ७५ हजार ग्राहक छन् । सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij