Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार

कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार

टोकियो  :  उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार भालुले झ्यालको चुक्कुल खोलेर झ्याल धकेलेको देखिएको छ । भाग्नुअघि उक्त भालुले आफ्नो अगाडिका खुट्टाको प्रयोग गरेर धारा खोलेर पानी पिएको दृश्य पनि देखिएको थियो ।फुकुसिमाका मेयर युकी बाबा ले भालुलाई अत्यन्त बुद्धिमान भन्दै त्यसको व्यवहारले अधिकारीहरूलाई समेत आश्चर्यचकित बनाएको बताएका छन् । भालु मंगलबार राति फुकुसिमाको एक इस्पात कारखानामा प्रवेश गरी चार जनामाथि आक्रमण गरेपछि नजिकैको इलेक्ट्रोनिक्स कारखानातर्फ गएको थियो । त्यसपछि अधिकारीहरूले त्यहाँ नियन्त्रणमा लिन प्रयास गरेका थिए ।

भालुलाई बेहोस बनाउन ट्रान्क्विलाइजर डार्ट प्रयोग गरिए पनि प्रयास असफल भएको थियो । त्यस्तै फलफूल र मह राखेर बनाइएका पासोहरू पनि प्रभावकारी हुन सकेनन् । जापानी सञ्चारमाध्यमका अनुसार भालुले पासोमा नफसी चारा मात्र खाइदिएको थियो ।बुधबार राति अधिकारीहरूले भालुलाई पासोतर्फ आकर्षित गर्न कारखानाका बत्तीसमेत बन्द गरेका थिए । तर भालु पासोमा फस्ला भन्दा झ्याल खोलेर भाग्यो ।

भालुमाथि गोली चलाउने अनुमति भए पनि कारखानाभित्र ज्वलनशील पदार्थ रहेकाले प्रहरीले त्यसो नगरेको जनाएको छ । भालु फरार भएपछि बिहीबार फुकुसिमा प्रशासनले ड्रोनमार्फत खोजी अभियान सुरु गरेको छ । 

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूले एक दिनका लागि अनलाइन कक्षा सञ्चालन गरेका छन् । जापानमा पछिल्ला वर्षहरूमा भालुको आक्रमणका घटना बढ्दै गएका छन् । गत वर्ष मात्र यस्ता घटनामा सात जनाको मृत्यु भएको थियो, जुन हालसम्मकै उच्च हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट