Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

१५औँ स्थापना दिवसमा अटोमोवाइल्स सहकारीको सामाजिक उदाहरण, चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग

१५औँ स्थापना दिवसमा अटोमोवाइल्स सहकारीको सामाजिक उदाहरण, चेपाङ बालबालिकाका लागि खाद्यान्न सहयोग

चितवन : अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रत्ननगर–११, मंगलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्ले र चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भिमलाल न्यूरे प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष काफ्लेले स्थापना दिवस केवल उत्सवको अवसर नभई समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण क्षण भएको बताए। उनले संस्थाका शेयर सदस्यहरूले स्वस्फूर्त रूपमा नगद तथा जिन्सी सामग्री उपलब्ध गराएर सहयोग अभियानलाई सफल बनाएकोमा धन्यवाद व्यक्त गरे। चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन केसीले गामवेसीको चेपाङ संरक्षण केन्द्रले चेपाङ समुदायका करिब १५० जना बालबालिकाको शिक्षा, आवास र पालनपोषणमा पुर्‍याइरहेको योगदानको उच्च प्रशंसा गरे।

उनले केन्द्रका अध्यक्ष के.पी. किरण शर्माले दुर्गम तथा विपन्न समुदायका बालबालिकाको भविष्य निर्माणमा खेलेको भूमिका प्रेरणादायी रहेको उल्लेख गरे। कार्यक्रममा निवर्तमान अध्यक्ष कुलबहादुर क्षेत्री (राजु), लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानुप्रसाद न्यौपाने, पूर्व अध्यक्षहरू महेन्द्र वाग्ले र अमृत जोशी, लायन्स क्लब अफ चितवन अटोमोवाइल्सका अध्यक्ष नवराज रिजाल तथा संरक्षण केन्द्रका अध्यक्ष के.पी. किरण शर्मालगायत विभिन्न समिति तथा उपसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सहकारीका सञ्चालक समिति सदस्य दिनेशप्रसाद पाठकको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुनिल देवकोटाले गरेका थिए। स्थापना दिवसको अवसरमा गरिएको यस सहयोगले चेपाङ समुदायका बालबालिकाको जीवनस्तर सुधारमा टेवा पुग्नुका साथै सामाजिक सेवामा सहकारी क्षेत्रको सक्रिय भूमिका थप उजागर गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट