Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बीवाईडी आयातबारे साइमेक्सको स्पष्टिकरण : ‘सबै प्रक्रिया कानुनअनुसार, विशेष सुविधा लिएका छैनौँ’

बीवाईडी आयातबारे साइमेक्सको स्पष्टिकरण : ‘सबै प्रक्रिया कानुनअनुसार, विशेष सुविधा लिएका छैनौँ’

चितवन :  नेपालका लागि बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले ठूलो संख्यामा सवारीसाधन आयात गरिएको विषयमा उठेका प्रश्नहरूको स्पष्टिकरण दिँदै सम्पूर्ण प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली तथा नियामक व्यवस्था अनुसार पारदर्शी रूपमा सम्पन्न भएको जनाएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि विद्युतीय सवारीसाधनको ठूलो आयात भएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक वृत्तमा प्रश्न उठेपछि कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
साइमेक्सका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा पुगेका २२६ वटा सवारीसाधन हालसम्म नेपालमा भन्सार जाँचपास भएका छैनन्। तर सञ्चारमाध्यममा उल्लेख गरिएका अन्य सवारीसाधन भने नेपाल सरकारका प्रचलित कानुन तथा भन्सार प्रक्रियाअनुसार नै विधिवत् रूपमा आयात तथा जाँचपास गरिएको कम्पनीको दाबी छ।

716290865_1468393388660723_8546646051805718786_n.jpg
undefined


कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको तथा त्यस्तो कुनै सुविधा मागसमेत नगरेको स्पष्ट पारेको छ। सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट जोगिन सवारीसाधन भित्र्याइएको भन्ने आरोपलाई कम्पनीले पूर्ण रूपमा असत्य र आधारहीन भनेको छ।
“कर परिवर्तनबाट बच्न खोजेको भन्ने आरोपले कम्पनीको प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएको छ,” विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार सबै आयात गतिविधि नियमित व्यावसायिक आवश्यकता, बजार माग, मौज्दात व्यवस्थापन तथा ढुवानी तालिकाका आधारमा योजनाबद्ध रूपमा सञ्चालन गरिएको हो।
साइमेक्सले ग्राहकबाट पहिले नै सुनिश्चित भइसकेका बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न आयात गरिएको स्पष्ट पारेको छ। साथै, बीवाईडीको उत्पादन तालिका, अन्तर्राष्ट्रिय ढुवानी उपलब्धता र व्यवसायिक योजनालाई ध्यानमा राखी प्रक्रिया अगाडि बढाइएको कम्पनीको भनाइ छ।

715516496_1468393361994059_6584958695655872379_n.jpg
undefined


कम्पनीले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाउँदै आवश्यक परे आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, भुक्तानी विवरण तथा अन्य सम्बन्धित कागजातहरू पूर्ण रूपमा उपलब्ध गराउन तयार रहेको जनाएको छ।
साथै, सञ्चारमाध्यम र सरोकारवालालाई आधिकारिक तथ्य तथा प्रमाणको आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै अपुष्ट जानकारीका आधारमा निष्कर्षमा नपुग्न अनुरोध गरेको छ। कम्पनीका अनुसार यस्ता अपुष्ट सामग्रीले व्यवसायिक वातावरण र प्रतिष्ठामा नकारात्मक असर पार्न सक्छ।
साइमेक्सले नेपालमा विद्युतीय सवारीसाधनको विस्तारले वातावरणीय लक्ष्य, इन्धन आयात घटाउने प्रयास तथा दिगो यातायात प्रणाली विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै पारदर्शिता, कानुनको पालना र जवाफदेहिताप्रति निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। See less

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट