Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतमा अलपत्र नेपाली प्रकरण : पाँच जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान

भारतमा अलपत्र नेपाली प्रकरण : पाँच जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान

बुटवल : भारतको उत्तर प्रदेशस्थित कुशीनगरलगायत क्षेत्रमा नेपाली नागरिकलाई रोजगारी तथा वैदेशिक रोजगारको प्रलोभन देखाएर अलपत्र पारेको आरोपमा प्रहरीले पाँच जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट जेठ १६ गते उद्धार गरिएका नेपाली नागरिकसँग गरिएको प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पाँच जनाको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको हो।

प्रहरीले गत शनिबार भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकलाई नेपाल ल्याएको थियो। अनुसन्धानका क्रममा विभिन्न एजेन्टमार्फत नेपाली नागरिकलाई भारतका विभिन्न कम्पनीमा रोजगारी लगाइदिने तथा तेस्रो मुलुकमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै प्रलोभनमा पारिएको खुलेको प्रहरीले जनाएको छ। यसरी भारत पुगेका सयौँ नेपाली अलपत्र परेपछि भारतस्थित नेपाली दूतावास, भारतीय दूतावास, भारतीय प्रहरी तथा नेपाल प्रहरीको समन्वयमा उनीहरूको उद्धार गरिएको थियो।

ठगी मुद्दामा पक्राउ परेका व्यक्तिहरूमा डोटीको शिखर नगरपालिका–११ का २३ वर्षीय सिताराम बोहरा, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० का ३० वर्षीय अनिल बुढाथोकी, रोल्पाको मुड्केचुला गाउँपालिका–१ का २३ वर्षीय अमनलाल बुढा, डोल्पाको ठूलीभेरी नगरपालिका–५ का २१ वर्षीय दिनेश बुढा तथा नवलपुरको कावासोती नगरपालिका–१ का ४५ वर्षीय कमल गिरी रहेका छन्। उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट