काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका दुई तिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएपछि उत्पन्न बाध्यात्मक परिस्थितिलाई निकास दिन सङ्घ नयाँ निर्वाचन गर्ने मिति तय गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनबमोजिम आगामी २०८३ साल जेठ २४ गते सङ्घको विशेष साधारण सभा तथा निर्वाचन हुने भएको हो । पदाधिकारीहरूको राजीनामापछि सङ्घको विधानको दफा २६ (४) (ख) मा टेकेर सल्लाहकारहरूको रोहबरमा एक प्रबन्ध समिति गठन गरिएको थियो ।
निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठित सोही समितिले अहिले साधारण सभा र निर्वाचनको प्रक्रियालाई तीव्रता दिएको छ । संयोजक भण्डारीले सङ्घको विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुसार नै चुनावको मिति तय गरी अघि बढेको बताए । आन्तरिक लोकतान्त्रिक अभ्याससँगै व्यवसायीका समस्या समाधानका लागि समितिले सरकारी तहमा पनि संवाद अघि बढाएको छ ।
सङ्घ एउटा विशेष र बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेको भन्दै प्रबन्ध समितिले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन विशेष अपिलसमेत गरेको छ । जेठ १९ गते प्रबन्ध समिति, सङ्घका पूर्व अध्यक्षहरू, सल्लाहकार तथा पूर्व पदाधिकारीहरूले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा भेटवार्ता गरेका थिए ।
उक्त छलफलमा वैदेशिक रोजगार क्षेत्रका जल्दाबल्दा विषयहरू सेवा शुल्क परिमार्जन, मागपत्र प्रमाणीकरणमा सहजता, प्रक्रियागत सरलीकरण र व्यवसायमैत्री वातावरण निर्माणका सन्दर्भमा गम्भीर विचार विमर्श भएको थियो। भेटका क्रममा मन्त्री यादवले व्यवसायीका जायज मागहरू सम्बोधन गर्ने र नीतिगत सुधार गर्ने विषयमा सकारात्मक प्रतिबद्धता जनाएका थिए। मन्त्रीको आश्वासनपछि वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन मद्दत पुग्ने विश्वास समितिले लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij