भरतपुर : चितवन क्षेत्रमा उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्स (PCMS) ले ‘PCMS Business Incubation Program’ सुरु गरेको छ। नयाँ उद्यमीहरूलाई सल्लाह, तालिम, मार्गनिर्देशन तथा व्यवहारिक अभ्यासमार्फत व्यवसायिक क्षमता अभिवृद्धि गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ।
कार्यक्रम औद्योगिक उद्यम विकास संस्थान (IEDI) तथा प्राविधिक साझेदार ‘द इन्क्युबेटर एकेडेमी’ (अन्त्रप्रेरणा, वृद्धि र केजीएस इन्क्स) को सहकार्यमा सञ्चालन भइरहेको छ। कार्यक्रमका सञ्चालक तथा प्रेसिडेन्सी कलेजका बीबीए निर्देशक सुशील भट्टराईले सहभागीहरूलाई उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्। कलेजका प्रिन्सिपल शम्भु छेत्रीले कक्षाकोठाको सैद्धान्तिक शिक्षामात्र नभई उद्यमशील सोच र व्यवहारिक सीप विकासमा समेत कलेज प्रतिबद्ध रहेको बताए। उनले युवाहरूलाई रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने दिशामा अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको सुरुवात गत मे २८ (जेठ ११) देखि चारदिने ‘आइडिया भ्यालिडेसन क्याम्प’ मार्फत गरिएको थियो। बुटक्याम्पमा छनोट भएका आठ जना उद्यमीहरूले सहभागिता जनाउँदै आफ्ना व्यवसायिक अवधारणालाई व्यवहारिक अभ्यास र वास्तविक परिस्थितिका आधारमा परीक्षण तथा परिमार्जन गर्ने अवसर प्राप्त गरेका थिए। उक्त सत्रमा व्यापार वृद्धि विकल्पकी सहसंस्थापक श्रद्धा शाक्य, प्रेसिडेन्सी कलेजका बीबीए निर्देशक सुशील भट्टराई तथा केजीएस इन्क्स र व्यापार वृद्धि विकल्पका सनिल तुलाधरले सहजीकरण गरेका थिए। कलेजका अनुसार कार्यक्रममार्फत चितवनका युवा उद्यमीहरूलाई नवप्रवर्तन, व्यवसाय विकास तथा दिगो उद्यम सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र नेटवर्किङको अवसर उपलब्ध गराइनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij