काठमाडौं : चार युवा सङ्गठनहरूले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्न र राजीनामा दिन माग गरेका छन्।सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघले प्रधानमन्त्री शाहले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूभागसम्बन्धी विषयमा संसद्मा व्यक्त गरेको भनिएको धारणालाई लिएर गम्भीर असन्तुष्टि जनाएका हुन्।
विज्ञप्तिमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘‘नेपालले पनि भारतको जमिन मिचेको छ’’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइ राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरुद्ध रहेको दाबी गरिएको छ। युवा सङ्गठनहरूले उक्त अभिव्यक्तिको निन्दा तथा भर्त्सना गर्दै यसले विभिन्न आशंका उत्पन्न गरेको बताएका छन्।
विज्ञप्तिमा प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि विगतदेखि नै मिडिया ट्रायल र सामाजिक सञ्जालको प्रयोगमार्फत जनमत प्रभावित गर्ने प्रयास गरेको आरोपसमेत लगाइएको छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रपति संस्था, संसद् तथा संसदीय प्रणालीप्रति उदासीन व्यवहार देखाइएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
युवा सङ्गठनहरूले सरकारमाथि सुकुम्बासी बस्तीमा धरपकड गरेको, बजेटमा निम्न तथा निम्नमध्यम वर्गका माग सम्बोधन नगरेको, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रभावकारी कदम नचालेको तथा शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा करको भार बढाएको आरोप पनि लगाएका छन्।
विज्ञप्तिमार्फत उनीहरूले प्रधानमन्त्री शाहलाई जनतासमक्ष माफी मागेर पदबाट राजीनामा दिन आग्रह गरेका छन्। साथै राष्ट्रहित र जनजीविकाविरुद्धका गतिविधिको विरोध गर्न आम युवाहरूलाई प्रदर्शन तथा प्रतिवादका कार्यक्रमहरूमा सहभागी हुन आह्वान गरेका छन्।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङ, वाइसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका संयोजक धर्म शाही तथा नेपाल समाजवादी युवा संघका प्रमुख विजय खड्काको हस्ताक्षर रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij