चितवन : गहिरा नदी, तालतलैया तथा पानीजन्य दुर्घटनामा ज्यान जोखिममा राखेर उद्धारमा खटिने सशस्त्र प्रहरी बल (एपीएफ) का गोताखोरले हाल दैनिक रु २०० मात्र प्रोत्साहन भत्ता पाउँदै आएका छन्। उच्च जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्ने गोताखोरले पाउने भत्ता अत्यन्त न्यून रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ।
पानीमा डुबेका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने तथा विभिन्न पानीजन्य दुर्घटनामा अग्रपङ्क्तिमा रहेर काम गर्ने गोताखोरको भूमिका महत्वपूर्ण भए पनि उनीहरूका लागि आवश्यक सुविधा र प्रोत्साहन अपर्याप्त रहेको बताइएको छ।
सशस्त्र प्रहरी बलअन्तर्गत कार्यरत गोताखोरलाई समयानुकूल तालिम तथा अत्यावश्यक उपकरणको पर्याप्त व्यवस्था हुन नसकेको, जोखिमपूर्ण कार्यका बाबजुद भत्ता न्यून रहेको र यस पेशाप्रति आकर्षण घट्दै गएको सम्बन्धित पक्षले जनाएको छ।
भत्ता र सुविधाको अभावका कारण सीमित संख्यामा रहेका दक्ष गोताखोरसमेत पेशाबाट पलायन हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। सरोकारवालाले गोताखोरको मनोबल उच्च राख्न तथा उद्धार सेवालाई प्रभावकारी बनाउन भत्ता, तालिम र उपकरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij