Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ग्रे मार्केट नियन्त्रण गर्न क्यान महासङ्घ र एनएमडीएबिच सहकार्य

ग्रे मार्केट नियन्त्रण गर्न क्यान महासङ्घ र एनएमडीएबिच सहकार्य

काठमाडौँ : नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठुला छाता सङ्गठन कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन (एनएमडीए) बिच रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। नेपालमा मोबाइल उद्योगको विकास र यस क्षेत्रमा विद्यमान चुनौतीहरू समाधान गर्ने उद्देश्यका साथ क्यान महासङ्घको केन्द्रीय कार्यालय खुसिबुमा दुवै संस्थाको उच्च नेतृत्व तहबिच महत्त्वपूर्ण छलफल सम्पन्न भएको हो।

बैठकमा विशेष गरी नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल अर्थात् ‘ग्रे मार्केट’ का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत विमर्श भएको थियो। क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यस भित्रका बेथिति अन्त्य गर्न सहकार्य अपरिहार्य रहेको बताए। अवैध आयातले राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू मर्कामा परेकाले यस विरुद्ध संयुक्त पैरवी गरिने उनको भनाइ थियो।

त्यस्तै एनएमडीएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीतिका लागि यो गठबन्धनले ठुलो ऊर्जा दिएको उल्लेख गरे। बैठकमा दुवै कार्यसमितिबिच कार्यदिशा संरेखण गर्ने, नीतिगत पैरवी तथा संयुक्त सहकार्यका लागि दीर्घकालीन रोडम्याप तयार गर्ने सहमति भएको छ। यस सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता दुवै संस्थाले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट