Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन आज सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा हुँदै, २२ जनाको उद्धार

चितवन आज सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा हुँदै, २२ जनाको उद्धार

चितवन : चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र मानव सेवा आश्रमको संयुक्त पहलमा सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको छ ।

अभियानलाई सफल बनाउन मानव सेवा आश्रम चितवनको टोली, प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) सहितको संयुक्त टोली रातिसम्म सक्रिय रूपमा खटिएको छ । टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर सडकमा बेसहारा अवस्थामा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार गर्दै आएको छ ।

यसैक्रममा बुधबार राति सञ्चालन गरिएको विशेष उद्धार अभियानबाट २२ जना सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको मानव सेवा आश्रम चितवनले जनाएको छ । उद्धार गरिएका अधिकांश व्यक्तिहरू परिवारको संरक्षण र साथबाट वञ्चित भई लामो समयदेखि सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका थिए ।

आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित रूपमा आश्रममा राखी आवास, भोजन, स्वास्थ्य उपचार तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । साथै उनीहरूको पारिवारिक पुनर्मिलन तथा दीर्घकालीन व्यवस्थापनका लागि समेत पहल गरिने जनाइएको छ ।

चितवनलाई पूर्ण रूपमा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला बनाउने लक्ष्यसहित विभिन्न निकायको समन्वयमा अभियान सञ्चालन हुँदै आएको छ । सोही अभियानको उपलब्धिस्वरूप आज चितवनलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला’ घोषणा गरिने कार्यक्रम रहेको छ । मानव सेवा आश्रमले सडकमा कष्टकर जीवन बिताइरहेका कुनै पनि व्यक्तिको जानकारी भए सम्बन्धित निकाय वा आश्रमलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट