चितवन : चितवन उद्योग संघको प्रतिनिधिमण्डल लाओस भ्रमणमा प्रस्थान गरेको छ। लाओसस्थित नेपाली महावाणिज्य दूतावास तथा लाओ नेशनल चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको औपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेको टोलीलाई शनिबार विशेष कार्यक्रमका बीच शुभकामना सहित बिदाइ गरिएको हो।
द्विपक्षीय व्यापार तथा व्यवसाय प्रवर्द्धन, प्रविधि र संस्कृतिको आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित लाओ नेशनल चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तथा भगिनी सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ भ्रमण आयोजना गरिएको संघले जनाएको छ। संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा रहेको टोलीमा पूर्व अध्यक्ष राजु पौडेल, उपाध्यक्षहरू प्रमेश्वर भण्डारी र विशाल चापागाईं, कार्यसमिति सदस्यहरू खिलप्रसाद घिमिरे र अर्जुन सापकोटा तथा उद्योगीहरू विष्णुप्रसाद घिमिरे र पुष्कर पौडेल सहभागी रहेका छन्।
सातदिने भ्रमणका क्रममा टोलीले लाओसका औद्योगिक क्षेत्र, खानी उद्योग, विद्युत् गृह, उत्पादनमूलक उद्योगहरूका साथै पर्यटकीय तथा धार्मिक क्षेत्रहरूको अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डललाई बिदाइ गर्न आयोजित कार्यक्रममा संघका गभर्निङ काउन्सिल अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरू गजेन्द्र अधिकारी, ताराबहादुर कार्की, गोपालप्रसाद गैरे र दिनुपकुमार बराल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरू शेषमणि भट्टराई र अश्विन गोले, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दुवाडी, प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल तथा कार्यालय सहायक प्रेमकला भूजेललगायतको उपस्थिति रहेको थियो। संघले यस भ्रमणबाट नेपाल–लाओसबीच औद्योगिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij