काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू छिटै सकिने बताएका छन्।शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता शक्ति छिट्टै ओरालो लाग्ने दाबी गरे। पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिमा विचार र नेतृत्वको अभाव रहेको टिप्पणी गरे।
सांसद पुनले अहिलेको डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए। नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे।
उनले नयाँ भनिएका दलका मन्त्रीहरू एक महिनाभित्रै पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि भएको दावी गरे। राजनीतिक विचार, त्याग र बलिदानबिना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ।
पुनले भने, ‘भर्चुअल दुनियाँबाट उठेको आन्दोलन तीव्र रूपमा उठ्छ र तीव्र रूपमै तल जान सक्छ। कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान र वर्ग खडा गरेर आएको शक्ति होइन। नयाँ भन्नेहरू कोल्याप्स हुन्छन् र फेरि हाम्रै साथीहरू अगाडि आउनुहुन्छ।’
विगतको पञ्चायतकालीन संघर्ष र जनयुद्धको जस्तो ठोस संगठनात्मक आधार नभएका कारण हालको ‘भर्चुअल’ लहर स्थायी नहुनेमा उनले जोड दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij