Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू

यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू

काठमाडौँ : देशका विभिन्न भागमा आएको बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्गहरूको आवागमन नराम्ररी प्रभावित भएको छ। शनिबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा कतै सवारी साधन पूर्ण रूपमा रोकिएका छन् भने कतै मुस्किलले एकतर्फी आवागमन भइरहेको छ।

अवरोधको सबैभन्दा ठूलो मार कोशी प्रदेशको पाँचथर जिल्लामा परेको छ। जेठ ८ गते आएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू पूर्ण रूपमा अवरोध भएका छन्। याङवरक वडा नम्बर ३ को ओयाम बजार र रिजालभिरमा पहिरो खस्दा तथा वडा नम्बर २ को दोभानमा बाढी आउँदा उक्त लोकमार्ग पूर्ण रूपमा ठप्प भएको हो। 

यसैगरी, कोशी प्रदेशकै भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण जेठ १२ गतेदेखि अवरुद्ध भएको बाटो वैकल्पिक मार्गसहित एकतर्फी सुचारु गरिएको छ। संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।

यता, बागमती प्रदेशअन्तर्गत राजधानी प्रवेश गर्ने छोटो दुरीको मार्गका रूपमा चिनिने कुलेखानी सडक खण्ड करिब एक महिनाका लागि बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ अन्तर्गत पर्ने महालक्ष्मीमा जेठ १५ गतेदेखि करिब १०० मिटर सडक ढलान गर्ने कार्य सुरु भएकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्डको ढलान कार्य नसकिएसम्म आवागमन रोकिएको हो।

त्यसैगरी, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बीपी राजमार्ग सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गतेदेखि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशका सडकहरू पनि पहिरोको चपेटाबाट अछुतो छैनन्। म्याग्दी जिल्ला हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी र रघुगंगा–१ उपल्लो बैसरीमा क्रमशः जेठ १६, जेठ ७ र जेठ १२ गते खसेको पहिरो पन्छाएर सडक ‘एकतर्फी सुचारु’ गरिएको छ। 

त्यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिका–८ कराडीस्थित सिद्धार्थ राजमार्गमा आजै बिहान खसेको पहिरोका कारण उक्त सडक खण्ड पनि एकतर्फी मात्रै सञ्चालनमा आएको छ। उता, कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक लगाइएको छ। हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा–सिमिकोट सडक खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट