चितवन : ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शुक्रबारदेखि चितवनमा सुरु भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य सङ्घको सभाहलमा महोत्सव सुरु गरिएको हो। महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाली साहित्य विश्वमै समृद्ध र गौरवशाली रहेको उल्लेख गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र माधवप्रसाद घिमिरेजस्ता स्रष्टाले साहित्यलाई उच्च स्थानमा पुर्याएको बताउनुभयो। उहाँले नयाँ पुस्ताका साहित्यकार, कलाकार र सर्जकहरूको सक्रियताले साहित्यिक क्षेत्र थप समृद्ध हुँदै गएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। थारु समुदायको घैला नाच, नेवारी नृत्य, तामाङ, मगरलगायत समुदायका सांस्कृतिक झाँकी तथा सारङ्गीको मधुर धूनले महोत्सवलाई आकर्षक बनाएको थियो। भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालका अनुसार महोत्सवमा साहित्य, संस्कृति, पर्यटन तथा बागमती सभ्यताको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित अन्तरक्रिया, छलफल तथा विमर्श कार्यक्रम सञ्चालन गरिनेछ।
डिभिजन वन कार्यालय भरतपुरका प्रमुख तथा महोत्सव योजनाकार विष्णुप्रसाद आचार्यले बागमती प्रदेशको सांस्कृतिक विविधता संरक्षण गर्दै नयाँ पुस्तामा साहित्य र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा सरोकारवालाको सहभागितामा महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।