Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु

डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु

चितवन :  रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ।

“Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुईदिने सेमिनारमा जिल्लाभरका रोटर्याक्ट पदाधिकारी, प्रशिक्षक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सेमिनारको उद्घाटन रोटर्याक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टेटिभ (डीआरआर) रोटरी वर्ष २०२६/२७ का प्रकाश शर्मा गैरेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाल री–इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले रोटर्याक्टमा आबद्ध युवाहरूलाई नेतृत्व, अनुशासन र सेवाभावमार्फत समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। युवाको सकारात्मक सोच र सक्रियताले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनले रोटर्याक्टलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्व सिक्ने उत्कृष्ट मञ्चको रूपमा व्याख्या गरे।

सेमिनारमा विशेष अतिथि तथा प्रशिक्षकका रूपमा पूर्व डीआरआर स्नेहा शाक्य, डिस्ट्रिक्ट लिडरशिप ट्रेनरहरू सबिक न्यौपाने, हृषव जोशी र सुनिल घिमिरे तथा पूर्व डिस्ट्रिक्ट ट्रेजरर पेसल भट्टराईले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।

कार्यक्रममा नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, प्रभावकारी टोली निर्माण तथा सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान, अन्तरक्रिया र आगामी कार्ययोजनाबारे छलफलसमेत भएको थियो।

उद्घाटन सत्रमा राष्ट्रिय गान तथा रोटरी गीत प्रस्तुत गरिएको थियो। सेमिनार जेठ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij