Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बागमतीमा एचआईभी संक्रमण घट्दो, नियन्त्रणमा अझै चुनौती

बागमतीमा एचआईभी संक्रमण घट्दो, नियन्त्रणमा अझै चुनौती

हेटौंडा : बागमती प्रदेशमा एचआईभी संक्रमण दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिए पनि यसको नियन्त्रण र व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरताको अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको सीमित पहुँच मुख्य चुनौतीका रूपमा रहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन् भने वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत छ । दैनिक औसत १.७ जना नयाँ संक्रमित थपिने गरेका छन् ।

निर्देशनालयका अनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या २०८०/०८१ मा घटेर २ सय ८ पुगेको थियो भने चालु आर्थिक वर्षमा ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर हाल १८ वटा एआरटी सेवाकेन्द्र, ६ वटा ओएसटी सेवाकेन्द्र तथा काठमाडौं र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् । ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने अभियान जारी रहे पनि पहिलो र तेस्रो लक्ष्य अझै चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

यसैबीच, स्वास्थ्य निर्देशनालय बागमती प्रदेश र एएचएफ नेपालको सहयोगमा हेटौंडामा सञ्चारकर्मीका लागि एचआईभीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एचआईभीसम्बन्धी तथ्यमा आधारित तथा संवेदनशील समाचार सम्प्रेषणको आवश्यकता औँल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट