Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गणतन्त्रको विकल्प कुनै निरङ्कुश वा वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङदेम्बे

गणतन्त्रको विकल्प कुनै निरङ्कुश वा वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङदेम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र जनसत्ताको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। परिवर्तनका लागि सङ्घर्षरत सम्पूर्ण नागरिक, राजनीतिक नेतृत्व, घाइते तथा बेपत्ता योद्धाहरूप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।

वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको एउटा निर्णायक मोड भएको नेता आङदेम्बेले उल्लेख गरेका छन्। यो व्यवस्था कुनै संयोगबाट प्राप्त नभएको स्पष्ट पार्दै उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान, त्याग र लोकतान्त्रिक चेतनाको परिणामस्वरूप स्थापित ऐतिहासिक उपलब्धि भएको बताएका छन्। गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको भन्दै समावेशिता, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको आधार पनि यही व्यवस्थाले सुनिश्चित गरेको कुरामा उनले जोड दिएका छन्।

गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको बताउँदै नेता आङदेम्बेले यसको विकल्प कुनै पनि निरङ्कुश, वंशवादी वा जनउत्तरदायित्वविहीन व्यवस्था हुन नसक्ने दृढता व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ। यही मार्गबाट मात्रै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने कुरा औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट