Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गणतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन आउनु हो : मुख्यमन्त्री बानियाँ

गणतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन आउनु हो : मुख्यमन्त्री बानियाँ

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतका गल्ती कमजोरी सुधार गर्दै नागरिकको अधिकार प्राप्तिमा क्रियाशील हुनुपर्ने बताए ।

उनका अनुसार सङ्घीयताको रक्षाको चुनौती सम्बोधनमा वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । पछिल्लो समय जनतामा, विशेष गरी युवाहरूमा बढेको असन्तुष्टि र केही उपलब्धि भएको छैन भन्ने गलत भाष्य चिर्नु आवश्यक रहेको उनले बताए । राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहार र शैलीका कारण उत्पन्न वितृष्णालाई बहाना बनाएर सङ्घीयतालाई नै जोखिममा पार्ने खेल भइरहेको उनको भनाइ छ ।

बागमती प्रदेशको आगामी कार्य दिशा जनमुखी,आयमुखी, गरिबमुखी र विकासमुखीु हुने उनले बताए । विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र मानव विकाससँग जोडेर अघि बढाउपर्ने उनले बताए ।

सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको मुख्यमन्त्री बानियाँको भनाइ छ । गरिब, विपन्न, श्रमिक, महिला र सीमान्तकृत समुदायको उत्थानलाई केन्द्रमा राखेर समावेशी विकासको अवधारणा कार्यान्वयन गर्ने दिशामा प्रदेश सरकार दृढ रहेको उनले बताए । 'लोकतन्त्रको सुन्दरता संवाद र सहभागितामा निहित हुन्छ, त्यसैले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्नुपर्छ' उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट