काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औंल्याएका छन्।
उनले भनेका छन्, ‘गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु।’
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ। साथै, राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गरेका छन्। उनले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु।’
लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छः उपराष्ट्रपति
यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
गणतन्त्र दिवस, २०८३ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो, संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सकेमात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ।’
‘गणतन्त्र दिवस’ हाम्रा लागि उत्सवमात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौँ वा सकेनौँ भन्ने प्रश्नको उत्तर खोज्ने दिन भएको बताएका छन्। वञ्चित, उत्पीडित, उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र स्थायी हुन सक्दैन भन्ने गहिरो सत्यलाई हामीले सदैव सम्मान गर्न सक्नुपर्ने उनको भनाइ छ।
उपराष्ट्रपति यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली जनताको दीर्घ सङ्घर्ष, ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस जनविद्रोह तथा असङ्ख्य सहिदहरूको अमूल्य बलिदानको परिणामबाट भएको पनि उल्लेख गरेका छन्। उनले दिवसका अवसरमा महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अङ्गभङ्ग भएका तथा बेपत्ता पारिएका वीरहरूलाई उच्च सम्मान पनि व्यक्त गरेका छन्। देशको वर्तमान व्यवस्थाले वंशपरम्परागत शासनलाई अन्त्य गर्दै सत्ता र शक्तिको दुरुपयोगलाई निषेध गरेको बताउँदै उनले त्यसलाई पुनः कमजोर पार्ने प्रयास लोकतन्त्र, सङ्घीयता र गणतन्त्रका मूल्यहरूलाई क्षति पुर्याउने कार्य हुने उल्लेख गरेका छन्।
उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको गौरवशाली परम्परा, सांस्कृतिक विविधता, राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रूपमा गणतन्त्र दिवसलाई मनाउन सकियोस्, लोकतन्त्र, सङ्घीयता, समावेशिता र संविधानका महान् उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन यो दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्, गणतन्त्र दिवसका अवसरमा पुनः हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु।’
आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी
यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छिन्।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भनेकी छिन्– ‘गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु।’
हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याएकी छिन्।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेख गर्दै उनले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन्। साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान पनि व्यक्त गरेकी छिन्।
उनले सन्देशमा भनेकी छिन्, ‘गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तनमात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन्।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij