चितवन : चितवनको भरतपुरमा नयाँ खानेतेल प्रशोधन उद्योग (रोयल रिफाइनरी)सञ्चालन तयारी भइरहेको छ। रोयल रिफाइनरीले कुल ६८ करोड रुपैयाँको लागतमा अत्याधुनिक तेल रिफाइनरी प्लान्ट निर्माण गरिरहेको हो। परियोजनाको व्यावसायिक सञ्चालन र आवश्यक चालू पुँजी व्यवस्थापनका लागि कम्पनीले वित्तीय साख (क्रेडिट रेटिङ) मूल्यांकन गराएको छ। कम्पनीले बैंकहरूबाट लिने कुल १ अर्ब ४३ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि केयर रेटिङ नेपालले पहिलो पटक रेटिङ प्रदान गरेको हो।
केयर रेटिङ नेपालका अनुसार कम्पनीको ४३ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि डबल बी माइनस र ५० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एफोर रेटिङ प्रदान गरिएको छ। दीर्घकालीन र अल्पकालीन प्रकृतिको गरी थप ५० करोडको कर्जा सीमालाई पनि ‘डबल बी माइनस’ र ‘ए फोर’ रेटिङ दिइएको छ। यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यो नयाँ परियोजना भएको र निर्माणकै चरणमा रहेकाले यसलाई जोखिमको प्रारम्भिक सूचीमा राखिएको हो।
रोयल रिफाइनरीले दैनिक २०० टन खानेतेल प्रशोधन गर्ने लक्ष्य राखेको छ। उद्योगले मुख्यतया भटमास, सूर्यमुखी र तोरीको तेल उत्पादन गर्ने योजना बनाएको छ। ६८ करोड रुपैयाँको यो परियोजनामा ६३ प्रतिशत ऋण (४३ करोड) र ३७ प्रतिशत स्वपुँजी (२५ करोड) को लगानी संरचना मिलाइएको छ।
हाल कम्पनीले बैंकहरूसँग ऋण सम्झौता गर्ने अन्तिम प्रक्रिया पुरा गरिरहेको र उद्योग निर्माणको प्रारम्भिक चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ। उद्योगको सबैभन्दा बलियो पक्ष यसका प्रवर्द्धकको लामो व्यावसायिक अनुभव हो। कम्पनीको नेतृत्व प्रमिल न्यौपानेले गरिरहेका छन्, जो खाद्य प्रशोधन क्षेत्रका अनुभवी व्यवसायी हुन्। न्यौपाने परिवार विगत चार दशकदेखि चामल उद्योग (राइस मिल) व्यवसायमा सक्रिय छ। साथै, प्रवर्द्धक समूहको हस्पिटालिटी र अन्य सेवा क्षेत्रमा समेत लगानी रहेकाले यो नयाँ उद्योगलाई वित्तीय र व्यवस्थापकीय सहयोग प्राप्त हुने रिपोर्टमा उल्लेख छ।
भूभागीय रणनीतिक रूपमा यो उद्योग निकै फाइदाजनक स्थानमा छ। भरतपुरमा अवस्थित हुनु र भारतीय सीमा (सुनौली नाका) सँग नजिक भएकाले तेस्रो मुलुकबाट हुने कच्चा पदार्थ आयातमा ढुवानी लागत कम लाग्नेछ। कम्पनीले प्रशोधित तेललाई नेपाली बजारका अतिरिक्त भारततर्फ समेत निर्यात गर्ने योजना बनाएको छ। नेपालमा खानेतेल दैनिक भान्छाको अपरिहार्य वस्तु भएकाले यसको बजार माग सधैं उच्च र स्थिर रहने हुँदा व्यवसायको दीर्घकालीन सम्भावना सकारात्मक रहने रिपोटमा उल्लेख छ।
यद्यपि, नयाँ उद्योग भएकाले कम्पनीसामु केही गम्भीर चुनौती पनि छन्। पहिलो, परियोजनालाई तोकिएको समय र अनुमानित लागतमा सम्पन्न गर्नु नै मुख्य चुनौती हो। दोस्रो, खानेतेल उद्योग नेपालमा निकै प्रतिस्पर्धात्मक छ, जहाँ धेरै ठूला र स्थापित उद्योग सञ्चालनमा छन्। तेस्रो, कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव हो, जसले कम्पनीको नाफालाई सिधै असर पार्न सक्छ। बैंकको ब्याजदरमा हुने फेरबदल र सरकारी कर नीतिका कारण पनि रिफाइनरी व्यवसायमा जोखिम रहने प्रतिवेदनले औंल्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij