काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको सुदृढीकरण र सत्ताको स्वेच्छाचारिता नियन्त्रणका लागि सञ्चार जगतले सशक्त पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले उक्त विचार व्यक्त गरेका हुन्।
नेता केसीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक भएको उल्लेख गरे। अहिलेको सामाजिक परिवेशमा सत्यभन्दा असत्य र भ्रमको खेती बढी भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रेस युनियनका सदस्यहरूलाई अझ बढी सतर्क रहन आग्रह गरे।
समाजलाई विभ्रमित तुल्याउने मिथ्या सूचनाको भीडमा सत्य, यथार्थ र वस्तुगत विश्लेषणसहितको सूचना सम्प्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती र दायित्व भएको उनको भनाइ छ। नेता केसीले पूर्ण शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई स्मरण गर्दै सत्ता र शक्ति केन्द्रमा बस्नेहरूमा हुने निरङ्कुश प्रवृत्तिको आलोचना गरे। लोकतन्त्रमा चेक एन्ड ब्यालेन्स अनिवार्य हुने उनले बताए।
कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ लोकतन्त्र छैन, त्यहाँ पत्रकारिताको कलम चल्न सक्दैन । निष्पक्ष, पारदर्शी र सुसूचित गर्ने पत्रकार स्वभावैले लोकतन्त्रवादी हुन्छ, किनभने लोकतन्त्रले मात्रै अभिव्यक्ति र संगठन गर्ने स्वतन्त्रता प्रदान गर्दछ । सत्ता, शक्ति र दलभित्रका विसंगतिलाई उजागर गर्नु प्रेसको धर्म हो। समाज परिवर्तनका लागि उत्तेजना र आवेग होइन, चेतना र विवेकको आवश्यकता पर्छ ।’
वर्तमान सरकारका कतिपय कदमहरूले स्थापित लोकतान्त्रिक परम्परा र मूल्य–मान्यतालाई चुनौती दिएको नेता केसीले आरोप लगाए। संविधानको धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता र ट्रेड युनियन अधिकारमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उनले यसलाई ‘नयाँ निरंकुशता’ को संकेतका रूपमा चित्रण गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij