काठमाडाैं : काठमाडाैं महानगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गितेन्द्रबाबु (जीबी)राई जोडिएको गोरखा मिडिया नेटवर्क प्रा.लि. का नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले मंगलबार (१२ जेठ)मा एक सूचना प्रकाशित गरी ग्यालेक्सी फोरके टेलिभिजनका सरसामानहरू सम्बन्धित पक्षले नलगेमा कानुनबमोजिम लिलाम बढाबढ गरिने चेतावनी दिएको हो।
काठमाडाैं महानगरपालिका वडा नं. ३ बस्ने घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रतिवादी बनाई ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाऊँ’ भनी काठमाडाैं महानगरपालिकाको न्यायिक समितिमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको दाबी बमोजिम घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा खाली गराइदिने निर्णय गरेको थियो ।
न्यायिक समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि विवाद अदालतसम्म पुगेको थियो । २०८२ साउन २८ गते उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्नु भनी काठमाडौं महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी गरेको थियो । अदालतको सोही आदेशअनुसार २०८२ कात्तिक १४ गते काठमाडाैं महानगरपालिकाको कार्यालयबाट डोर (टोली) खटिएर सो घरजग्गा खाली गराई निर्णय कार्यान्वयन गरिएको थियो ।
महानगरपालिकाले घरजग्गा खाली गराई निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भइसकेको छ । यसैबीच, वादी मृगेन्द्र मिश्रले २०८३ वैशाख २१ गते ग्यालेक्सी फोरके टेलिभिजनमा रहेका सामानहरू लिलाम गरी पाऊँ भनी महानगरमा निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा महानगरले यो अन्तिम सूचना प्रकाशित गरेको हो ।महानगरको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान यो सूचना प्रकाशित गरिएको हुँदा म्यादभित्र आफ्नो ग्यालेक्सी फोरके टेलिभिजन सम्बद्ध सरसामान लगी घर खाली गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ ।’
महानगरले तोकिएको १५ दिने समयावधिभित्र कानुन बमोजिम सरसामान नलगेमा ‘काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५' को दफा ७० बमोजिम सामानहरू लिलाम हुने ब्यहोरा समेत स्पष्ट पारेको छ। लामिछानेको नेतृत्व तथा राईलगायतको लगानीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो । तर, लामिछाने राजनीतिमा प्रवेश गरेको केही महिनापछि नै टेलिभिजन बन्द हुन पुगेको थियो । हाल लामिछाने राजनीतिमा सक्रिय छन् भने अध्यक्ष जीबी राई फरार सूचीमा रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij