भरतपुर: चितवनका सडक फराकिला र आधुनिक बन्दै गए पनि दृष्टिविहीनका लागि भने अझै सुरक्षित बन्न सकेका छैनन् । सेतो छडी टेकेर दैनिक यात्रा गर्ने दुई सयभन्दा बढी दृष्टिविहीन नागरिक सडकपेटी, खुला नाला, अव्यवस्थित पार्किङ र साँघुरा पैदलमार्गका कारण जोखिम मोलेर हिँड्न बाध्य छन् । नेपाल नेत्रहीन संघ चितवनका अध्यक्ष सागर चौधरी ले चितवनका सडक तथा सडकपेटी दृष्टिविहीनमैत्री हुन नसकेको बताए । उनका अनुसार सडकपेटीमा बिजुलीका पोल, मोटरसाइकल पार्किङ तथा व्यवसाय सञ्चालन गरिँदा सेतो छडी प्रयोगकर्तालाई हिँडडुल गर्न झन् कठिन भइरहेको छ ।
संविधान र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा दृष्टिविहीनहरू अझै असुरक्षित रहेको गुनासो छ । नेपाल नेत्रहीन संघ चितवनका निवर्तमान अध्यक्ष सञ्जय अर्याल ले चितवनका अधिकांश जेब्रा क्रसिङ दृष्टिविहीनमैत्री नभएको बताए । “विदेशमा जेब्रा क्रसिङमा ध्वनि संकेत हुन्छ, यहाँ त देख्न सक्नेले समेत पत्ता लगाउन गाह्रो हुने अवस्था छ,” उनले भने ।
दृष्टिविहीनहरूले प्रयोग गर्ने सेतो छडी विभिन्न आकार र तौलका हुन्छन् । सामान्यतया एक हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने यी छडी ६ महिनादेखि एक वर्षसम्म टिक्ने गर्छन् । नेपालमा उत्पादन नहुने भएकाले भारत लगायतका देशबाट आयात गरिएका छडीकै भरमा दृष्टिविहीनले यात्रा गर्नुपरेको छ । यसैबीच नारी अभ्युदय केन्द्र नारायणगढ ले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा ३१ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । कार्यक्रम संयोजक छाया श्रेष्ठ का अनुसार दृष्टिविहीनको दैनिक यात्रा सहज बनाउन सहयोगस्वरूप छडी वितरण गरिएको हो ।
केन्द्रकी अध्यक्ष विष्णुकुमारी रायमाझी तथा संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ ले दृष्टिविहीनमैत्री पूर्वाधार निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । नेपाल नेत्रहीन संघ चितवनका सचिव दीपक खनाल ले सडकपेटीमा खुला नाला, ठेला तथा अव्यवस्थित संरचनाका कारण दृष्टिविहीनको यात्रा सकसपूर्ण बनेको उल्लेख गर्दै सडकपेटीलाई दृष्टिविहीन र ह्विलचेयर प्रयोगकर्तामैत्री बनाउन आग्रह गरे ।