Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

खलङ्गा (दार्चुला) :  दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेकामा सोमबारसम्म उक्त सङ्ख्यामा सङ्कलनकर्ताले अनुमति लिएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हालसम्म वितरण गरिएका सबै अनुमतिपत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन् ।

सङ्कलनकर्ताको सहजताका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसहित जिल्लाका ११ विभिन्न स्थानबाट अनुमतिपत्र वितरण भइरहेको छ । संरक्षण क्षेत्रले सङ्कलनकर्ताको भौगोलिक अवस्थाअनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरेको छ ।

संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि ‘निलो कार्ड’ वापत प्रतिव्यक्ति रु ५००, दार्चुला जिल्ला भित्रका अन्य नागरिकका लागि ‘पहेलो कार्ड’ वापत रु दुई हजार तथा जिल्ला बाहिरका नागरिकका लागि ‘रातो कार्ड’ वापत रु तीन हजार शुल्क तोकिएको छ ।

यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चागुम्बा पाइने पाटन प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म मात्रै खुला रहने कानुनी व्यवस्था रहेको छ ।

यद्यपि पाटन खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी वैशाख महिनादेखिनै हिमाली क्षेत्रमा पुगेर यार्चागुम्बा सङ्कलनमा जुटिसकेका छन् ।

दार्चुलाका लोलु, अपीफेद, सतगङ्गा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्चागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमतिपत्र नलिई अवैध रूपमा यार्चागुम्बा तथा अन्य बहुमूल्य जुडिबुटी सङ्कलन नगर्न तथा कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट