काठमाडौँ : वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ।समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्ता गतिविधि स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको महासङ्घका महासचिव रामप्रसाद दाहालले सोमबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घको काठमाडौँ शाखाका अनुसार केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि यस्तो व्यवहार भएको हो।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी महासङ्घलाई गराएका छन्।
महासङ्घले प्रेस विरोधी गतिविधि तत्काल रोक्न, समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij