चितवन : चितवन उद्योग वाणिज्य संघले अबदेखि सोमबार नियमित रूपमा व्यवसाय सञ्चालन गर्न र शनिबार मात्र बजार बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ।
संघले आइतबार एक अपिल जारी गर्दै लामो समयदेखि सोमबार बन्द हुँदै आएको अभ्यासले व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएको जनाएको छ। नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबारसमेत बजार बन्द हुनु उपयुक्त नभएको संघको भनाइ छ।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार आइतबार विभिन्न वस्तुगत संघहरूसँगको संयुक्त बैठकले अबदेखि सम्पूर्ण व्यवसाय सोमबार सञ्चालन गर्ने र शनिबार सामूहिक रूपमा बन्द गर्ने निर्णय गरेको हो।
संघले सामूहिक रूपमा एकै दिन बन्द गर्ने अभ्यासले व्यवसायीको साझा आवाज सुदृढ हुने विश्वास व्यक्त गरेको छ। साथै, शनिबार बजार बन्द हुँदा सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार तथा प्रशासनिक कार्यमा सहज हुने र व्यवसायी तथा कर्मचारीलाई विश्राम मिल्ने पनि जनाएको छ।